काठमाडौं – नेपालमा विद्यालय तहको सबैभन्दा ठूलो तथा पहिलो राष्ट्रिय रोबोटिक्स, इन्टरनेट अफ थिङ्स र नवप्रवर्तन प्रतियोगिता ‘नेशनल स्कुल इनोभेसन लिग (एनएसआईएल) को औपचारिक शुभारम्भ हुने भएको छ ।
दूरशिक्षा एजुकेसन नेटवर्क प्रालिले आयोजना गर्न लागेको प्रतियोगितामा देशभरका कक्षा ३ देखि १० सम्मका करिब १० हजार विद्यार्थीलाई रोबोटिक्स, प्रोग्रामिङ, इलेक्ट्रोनिक्स तथा नवप्रवर्तनमा आधारित व्यवहारिक सिकाइसँग जोड्ने लक्ष्य राखिएको दूरशिक्षा एजुकेसन नेटवर्कका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डे जानकारी दिनुभयो ।
उहाँका अनुसार यो नेपालमा विद्यालयस्तरमा सञ्चालन हुन लागेको पहिलो राष्ट्रिय नवप्रवर्तन लिग हो । प्रतियोगिताका लागि साउन ११ देखि भदौ १८, २०८३ सम्म दर्ताका लागि समयसमेत खुला गरिएको छ ।
nsil.dursikshya.com वेबसाइमार्फत अनलाइन दर्ता तथा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी लिन सक्ने व्यवस्था आयोजकले मिलाएको छ । भदौ मसान्तभित्र सहभागी विद्यालयहरूमा इनोभेसन किट उपलब्ध गराइनेछ भने असोज ७ गतेदेखि शिक्षक तथा विद्यार्थीका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन हुने पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गत देशका ९ प्रमुख सहरमा मंसिर र पुस महिनामा क्षेत्रीय प्रतिस्पर्धा हुनेछ । त्यसपछि उत्कृष्ट टोलीहरू काठमाडौंमा आयोजना हुने राष्ट्रिय ग्राण्ड फिनालेमा सहभागी हुनेछन । राष्ट्रिय विजेता टोलीहरूले कुल पाँच लाख बराबरको नगद पुरस्कार प्राप्त गर्ने छन । प्रतियोगिता तीन तहमा सञ्चालन हुनेछ ।
जहाँ कक्षा ३ देखि ५ सम्मका लागि बेस क्याम्प लिग, कक्षा ६ देखि ८ सम्मका लागि असेन्ट लिग तथा कक्षा ९ देखि १० सम्मका लागि समिट लिग हुनेछ । प्रत्येक तहका लागि छुट्टाछुट्टै परियोजना, इनोभेसन किट र मूल्याङ्कन प्रणाली तयार गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विद्यार्थीहरूले समुदाय तथा दिगो विकास लक्ष्य (एसडीजीज) सँग सम्बन्धित वास्तविक समस्याको समाधान गर्ने प्रविधिमैत्री परियोजना विकास गर्नेछन । सहभागी विद्यालयलाई इनोभेसन किट, विद्यार्थी कार्यपुस्तिका, परियोजना मार्गदर्शन, शिक्षक तथा विद्यार्थी प्रशिक्षणलगायत आवश्यक प्राविधिक सहयोग समेत आयोजकले उपलब्ध गराउनेछ ।
‘कक्षाकोठाबाट विश्व मञ्चसम्म’ भन्ने नारासहित हामीले यो प्रतियोगिता गरेका छौं,’ पाण्डेले भन्नु भयो,‘ यो केवल प्रतियोगिता मात्र नभई विद्यालय तहमा वैज्ञानिक सोच, नवप्रवर्तन र प्रविधिमैत्री शिक्षालाई प्रवद्र्धन गर्ने राष्ट्रिय अभियान हो। यसमार्फत विद्यार्थीलाई भविष्यका वैज्ञानिक, इन्जिनियर, आविष्कारक तथा उद्यमी बन्न प्रेरित गर्नेछ ।’


