खारे खोलाको कटानले दोलखाको लोगटा बस्ती उच्च जोखिममा

एटुजेड समाचार

दोलखा। अविरल वर्षापछि आएको बाढीका कारण दोलखाको गौरीशङ्कर गाउँपालिका–८ खारेस्थित लोगटा बस्ती उच्च जोखिममा परेको छ। खारे खोलाले तीव्र रूपमा जमिन कटान गर्न थालेपछि बस्तीका करिब १० घर तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्।

स्थानीय रवीन्द्र सुरेलका अनुसार लोगटा बस्तीमा रहेका १४–१५ घरमध्ये अधिकांश घर जोखिममा परेका छन्। बाढीले जमिन कटान तीव्र बनाएपछि पहलबहादुर तमाङ, धनबीर तमाङ र रत्नबहादुर तमाङले घर छाडिसकेका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

यस्तै, बुद्धिमान तमाङ, आरतबहादुर तमाङ र दिनेश तमाङका घर पनि उच्च जोखिममा रहेकाले उनीहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखिएको स्थानीयको भनाइ छ।

गौरीशङ्कर गाउँपालिका–८ का वडाध्यक्ष दावारेन्जी शेर्पाका अनुसार सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा जोखिममा परेका परिवारका लागि अस्थायी टहरा निर्माण गरिएको छ। हाल ती परिवारहरू सुरक्षित स्थानमा बसिरहेका छन्।

नदी किनारभन्दा केही माथि रहेका भक्तबहादुर तमाङ, धनबहादुर तमाङ र वीरबहादुर तमाङका घर पनि जोखिममा परेकाले वर्षा भइरहेका बेला अन्यत्र बस्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।

बस्ती जोखिममा परेपछि गाउँपालिका अध्यक्ष विश्वास कार्कीलगायतको टोलीले घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेको छ। निरीक्षणपछि गाउँपालिका र वडा कार्यालयले जोखिममा रहेका परिवारका लागि तत्काल अस्थायी टहरा निर्माण, राहत तथा आवश्यक व्यवस्थापन गर्ने तयारी गरेको वडाध्यक्ष शेर्पाले जानकारी दिए।

हाल जोखिममा रहेका अधिकांश परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन्। आवश्यक व्यवस्थापन पूरा भएपछि उनीहरूलाई सुरक्षित स्थानमा स्थायी रूपमा स्थानान्तरण गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।

स्थानीयले निरन्तर वर्षासँगै खारे खोलाको कटान अझ बढ्न सक्ने भएकाले जोखिममा रहेका बस्तीको संरक्षण तथा दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु