मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण पानीजन्य तथा विभिन्न संक्रामक रोगहरूको जोखिम तीव्र रूपमा बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अधिकारीहरूले देशभर झाडापखाला, हैजा, टाइफाइड, डेंगी र श्वासप्रश्वाससम्बन्धी संक्रमणका बिरामीहरूको संख्या उल्लेखनीय रूपमा बढेको भन्दै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो प्रतिवेदन अनुसार देशभर महामारीको रूप लिन सक्ने संक्रामक रोगहरूको अवस्था बढ्दो छ ।
झाडापखालाका बिरामी बढ्दै
महाशाखाका अनुसार पछिल्लो एक साताको अवधिमा मात्रै देशभर ७८५ जना तीव्र झाडापखालाका बिरामी फेला परेका छन् । पछिल्ला तीन साताको निगरानीमा क्रमशः ७२०, ७६२ र ७१८ भन्दा बढी बिरामी भेटिएका ईडीसीडीले जनाएको छ ।
महाशाखाका अनुसार इन्फ्लुएन्जाजस्तो रोगका ५००, श्वासप्रश्वास संक्रमणका ४३६, डेंगीका ११३, स्क्रब टाइफसका ३७ र ज्वरोसँगै डाबर आउने समस्या भएका ३३ बिरामी फेला परेका छन् ।
झाडापखालाका सबैभन्दा धेरै ३८० बिरामी बागमती प्रदेशमा फेला परेका छन् । त्यस्तै, इन्फ्लुएन्जाका सबैभन्दा बढी १९८ बिरामी सुदूरपश्चिम प्रदेशमा र श्वासप्रश्वास संक्रमणका १०७ बिरामी लुम्बिनी प्रदेशमा देखिएका छन् ।
डेंगी संक्रमितहरूमध्ये सबैभन्दा धेरै ४३ जना कोशी प्रदेशमा फेला परेका छन् भने स्क्रब टाइफसका बिरामी गण्डकी र सुदूरपश्चिममा बढी देखिएका छन् ।


