काठमाडौं – नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौं सडकखण्डमा कतैपनि पहिरोले सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। चितवनको मुग्लिन–नारायणगढ र मुग्लिन–काठमाडौं सडकखण्डमा गएरातिदेखि रोकिएका सवारी साधनहरु आज बिहानैबाट सञ्चालन भइरहेका छन्।
बिहान ६ बजेदेखि सवारी साधनहरु चल्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। वर्षा, बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले गएराति १० बजेदेखि सवारी सञ्चालन गर्न रोक लगाएको थियो। राति पनि खासै पानी नपरेको र बिहानमा सावधानी अपनाएर सवारी चलाउन सकिने अवस्था देखेपछि रोकिएको सडक सञ्चालन गर्न खुला गरिएको बताइएको छ।
मुग्लिन काठमाडौं सडकखण्डअन्तर्गत धादिङको जवाङ खोला नजिकै खसेको सानो पहिरो पनि हटाइसकिएकाले दुवै खण्डमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रतीक सिंहले पनि सवारी साधनहरु चल्न थालेको बताए। ‘बाटोमा कतै अवरोध छैन,’ उनले भने, ‘धादिङको जवाङ खोलामा खसेको पहिरो पनि हटाइसकिएकाले अहिलेसम्म यात्रामा अवरोध छैन।’
राजमार्ग बन्द गरिएपछि भरतपुरतर्फबाट जाने सवारी साधनलाई भरतपुरको केन्द्रीय बसपार्क, आँपटारी, रामनगर, जुगेडीलगायतका क्षेत्रमा रोकिएका थिए भने काठमाडौंबाट पोखरा र नारायणगढतर्फ आउने सवारी साधनलाई मुग्लिन र कुरिनटारमा रोकिएको थियो। पोखरातर्फ आउने सवारी साधनलाई तनहुँ तिर नै विभिन्न ठाउँमा रोक्न लगाइएको थियो।
रातभर रोकिएका सवारी साधनलाई प्राथमिकतामा राखेर गन्तव्यतर्फ पठाउने काम भैरहेको चितवन ट्राफिक प्रहरीले जनाएको छ। पूर्वी नवलपरासीतिरबाट आउने सवारी साधनलाई गैंडाकोट तथा भेँडाबारी र थुम्सी लगायतका क्षेत्रमा रोकिएका सवारीलाई पनि अगाडि बढाउने काम भैरहेको छ।
लेन अनुशासन पालना गर्दै जिम्मेवार चालक बनेर सडक सञ्चालनमा सहयोग गरिदिन प्रहरीले सबैमा अनुरोध गरेको छ।


