दाङ – नेपाल ह्याचरी उद्योग संघको गतिविधिलाई जिल्लास्तरमा प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यले दाङका ह्याचरी व्यवसायीहरूको भेला सम्पन्न भएको छ।
नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिका उपाध्यक्ष ज्ञानबहादुर बिसुरालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा दाङ जिल्लाका १३ वटा ह्याचरी उद्योगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
भेलाले संघका गतिविधिलाई स्थानीय तहमा सहजीकरण तथा व्यवसायीबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउन शोभाराम वलीको संयोजकत्वमा पाँच सदस्यीय समन्वय समिति गठन गरेको छ। समितिका सदस्यमा ईश्वर श्रेष्ठ, अर्जुन पौडेल, विशाल अधिकारी र डिल्लीबहादुर डाँगी चयन भएका छन्।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष बिसुरालले देशको पोल्ट्री तथा ह्याचरी उद्योगको वर्तमान अवस्था, व्यवसायले सामना गरिरहेका चुनौती, व्यवसायीबीचको एकता र संस्थागत सहकार्यको आवश्यकताबारे प्रशिक्षणमूलक प्रस्तुति दिएका थिए। उनले व्यवसायको दिगो विकासका लागि सबै ह्याचरी व्यवसायी संगठित हुनुपर्नेमा जोड दिएका थिए।
भेलाले दाङ जिल्लाका सम्पूर्ण ह्याचरी व्यवसायीलाई संघमा आबद्ध गराउँदै व्यवसायिक एकता कायम गर्ने, आपसी सहकार्यलाई थप सुदृढ बनाउने तथा उद्योगका साझा समस्या समाधानका लागि संगठित रूपमा अघि बढ्ने निर्णय भएको आयोजकले जनाएको छ ।


