विश्वकपको क्वार्टरफाइनलमै बाहिरिएको नर्वे टोलीलाई ओस्लोमा भब्य स्वागत

एटुजेड समाचार

ओस्लो – नर्वेको सम्झनालायक फिफा विश्वकप २०२६ अभियान क्वार्टरफाइनलमै समाप्त भएपनि सोमबार टोली स्वदेश फर्किँदा ओस्लोमा खेलाडीहरुको भब्य स्वागत गरिएको छ । रोयटर्सका अनुसार, ओस्लोभरि एक लाखभन्दा बढी समर्थकहरू आफ्ना खेलाडीहरूको स्वागत गर्न सडकमा उत्रिएका थिए।

क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग अतिरिक्त समयमा २–१ ले पराजित हुँदै अन्तिम चारमा पुग्ने अवसर गुमाएको नर्वेली टोलीले उपाधि यात्रा टुंगिए पनि स्वदेशमा भव्य स्वागत गरिएको छ । टोली ओस्लो आइपुग्दा परम्परागत ‘वाटर क्यानन सलामी’ दिइयो। त्यसपछि राजधानी ओस्लोमा खुला बसमार्फत स्वागतका लागि परेड निकालिएको थियो।

हजारौं समर्थकहरू शाही दरबार (रोयल प्यालेस) वरिपरि र शहरको मुख्य सडक कार्ल योहान्स गेटमा भेला भएका थिए। खेलाडीहरूले सर्वप्रथम राजा ह्याराल्डसँग भेटघाट गरे र त्यसपछि दरबारको भ¥याङबाट समर्थकहरूलाई अभिवादन गरेका थिए । युवराज हाकोनले ढोल बजाउँदै टोलीको पारम्परिक नाराको नेतृत्व गरेका थिए। तर, स्टार स्ट्राइकर एर्लिङ हालान्ड भने अर्को उडान समात्नुपर्ने भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन्।

नर्वेको राष्ट्रिय फुटबल टोलीले आफ्नो आधिकारिक एक्स अकाउन्ट ‘फोटबालान्ड्सलागेट’ मार्फत स्वदेश फर्किएको उत्सवको भिडियो पनि सार्वजनिक गरिएको थियो ।यसले फुटबलको सबैभन्दा ठूलो मञ्चमा अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गरेको टोलीप्रति सम्पूर्ण राष्ट्रको गर्व झल्काएको थियो।

हालान्ड र मिडफिल्डर सान्देर बेर्गे अनुपस्थित हुनुको कारणबारे मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले भने, ‘अमेरिकाबाट फर्किने हाम्रो उडान चार घण्टा ढिलो भएकाले एर्लिङ र सान्देर (बेर्गे)ले आफ्नो अर्को विमान समात्न तुरुन्तै जानुप¥यो,’ रोयटर्सले जनाएको छ।

टोलीका कप्तान मार्टिन ओडेगार्डले विश्वकपभरि समर्थकहरूले दिएको अभूतपूर्व साथप्रति आभार व्यक्त गरे।ओस्लोमा निकालिएको खुला बस परेड विशाल भीडका कारण केही समय ढिलो भएको थियो । एक चरणमा प्रहरीले भीड हटाएर बाटो बनाउने क्रममा बसलाई पछाडि फर्काउनसमेत परेको थियो।

यात्राका क्रममा सडकमाथि झुन्डिएका विद्युत् तथा सञ्चारका तारहरूका कारण माथिल्लो डेकमा उभिएका खेलाडीहरूलाई केहीबेर बस्न लगाइएको थियो, त्यसपछि मात्र बसले यात्रा अघि बढाउन सकेको थियो।केही अवरोधका बाबजुद परेड सिटी हल स्क्वायर पुगेको थियो । जहाँ दशौं हजार समर्थकहरू नर्वेको ऐतिहासिक फिफा विश्वकप अभियानको सम्मानमा उत्सव मनाउन धैर्यपूर्वक प्रतीक्षा गरिरहेका थिए। (एएनआई)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु