गणेश नेपाली आत्मदाह प्रकरण : सरकार र पीडितबीच ९ बुँदे सहमति

एटुजेड समाचार

काठमाडौँ : आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा संघीय सरकार,स्थानीय तह र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।

आइतबार काठमाडौँ प्रशासन कार्यालयमा भएको सहमतिमा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्ने बताइएको छ।

सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रक्रिया अघि बढाउने पनि उल्लेख गरिएको छ।

साथै घटनाका दिन त्रिपुरेश्वर क्षेत्रमा खटिएका महानगर प्रहरीका कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदनअनुसार थप कारबाही गरिने सहमति भएको छ।

पीडित परिवारलाई राहतस्वरूप मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा महानगरपालिकामा रोजगारी उपलब्ध गराउने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गरिने उल्लेख छ। यस्तै आगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने सहमतिमा उल्लेख छ।

यस्तै गणेश नेपालीको अन्तिम संस्कारको सम्पूर्ण व्यवस्था, आफन्तको यातायात तथा काठमाडौँ बसाइ खर्च, शव बुझ्ने र पोष्टमार्टमलगायत कानुनी प्रक्रिया सहज बनाउने सहमति भएको छ। यस्तै परिवारका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था गर्ने विषयमा पनि सरकार र स्थानीय सरकार (महानगर) ले जिम्मेवारी लिने सहमति भएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु