चितवन — लायन्स क्लब अफ नारायणी चौतारीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लबको वर्ष २०२६/२७ का लागि नवनिर्वाचित कार्यसमितिलाई आज (आइतबार) आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा पद हस्तान्तरण गरिएको छ।
पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२५/२६ का अध्यक्ष लायन रामहरि अधिकारीको अध्यक्षतामा भरतपुर स्थित होटल पौवामा सम्पन्न भएको हो । पद हस्तान्तरणसँगै आज नै नवनिर्वाचित अध्यक्ष ला. रेशमलाल फुयालको संयोजकत्वमा चितवन मानवसेवा आश्रममा भोजन खुवाउने कार्यक्रम समेत सम्पन्न गरिएको छ । भाेजन खुवाउने कार्यक्रममा प्रमुख अतिथि 1st VDG PMJF लायन दिपेन्द्र प्रसाद खतिवडा रहेका थिए ।
क्लबले पदभार ग्रहण गर्दैगर्दा सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा गर्ने उद्देश्यले कार्यकालको सुरुवातमै मानव सेवा आश्रममा भाेजन खुवाएको हो ।
यसअघि क्लबको १५ औँ वार्षिक अधिवेशन तथा फेमिली फेलोशिप कार्यक्रम वैशाख १२ गते भरतपुर–२५ स्थित टाइगर वाइल्डलाइफ रिसोर्टमा सम्पन्न गरेको थियो। सोही अधिवेशनबाट वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको थियो।
नवनिर्वाचित कार्यसमिति अध्यक्षमा रेशमलाल फुयाल, प्रथम उपाध्यक्षमा विश्वनाथ पौडेल, द्वितीय उपाध्यक्षमा इन्द्रप्रसाद न्यौपाने, तृतीय उपाध्यक्षमा वासुदेव तिमिल्सिना, सचिवमा एमजेएफ मेघनाथ बराल तथा कोषाध्यक्षमा नवीन श्रेष्ठ चयन भएका छन्।
आइतबार सम्पन्न कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
कार्यक्रममा विशिष्ट अतिथि, क्लबका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ कार्यसमितिले आगामी कार्यकालमा विभिन्न सामाजिक, मानवीय तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै समुदायमा अझ प्रभावकारी योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


