चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेटवर्क विस्तार तथा पूर्वाधार स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख उपप्रवन्धक राकेश चौधरीका अनुसार भरतपुर महानगरपालिका–२९ को लमाहल, इच्छाकामनाको हात्तिवाङ, माडीको अमरौली र बगौडा, भरतपुर अस्पताल क्षेत्र, रामनगर–पटिहानी सडकखण्ड, टिकौली–रत्ननगर सडक, चौबीसकोठी तथा सिएमसी अस्पताल आसपासका क्षेत्रमा मोबाइल सेवाको क्षमता विस्तार तथा स्तरोन्नति गरिएको छ । उनका अनुसार सेवा कमजोर रहेका क्षेत्रमा नयाँ मोबाइल टावर निर्माण गर्नुका साथै सञ्चालनमा रहेका टावरको क्षमता पनि वृद्धि गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गका केही स्थानमा फोन नलाग्ने गुनासो आएपछि टिकौली क्षेत्रमा सेक्टर विस्तार गरिएको छ भने रामनगर सडक मोडमा अतिरिक्त उपकरण जडान गरेर सेवाको गुणस्तर सुधार गरिएको छ । प्रमुख चौधरीले भने, ‘भीडभाड हुने अन्य स्थानमा पनि आवश्यकताअनुसार क्षमता विस्तार गर्दै गएका छौँ ।’
माडी जाने चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा विद्युत् आपूर्तिको समस्या रहने भएकाले नेटवर्क विस्तारमा चुनौती रहेको उनले बताए । चालु आर्थिक वर्षमा सिमलढाप, तिरुवा डाँडा ९कालिका–१०, पन्याडाँडा, चौकीडाँडा, मोहना, खैरहनी र मङ्गलपुरलगायतका क्षेत्रमा सेवा विस्तार गरिएको छ । तीमध्ये केही स्थानमा नयाँ टावर निर्माण गरिएको छ भने विद्युत् सुविधा नपुगेका क्षेत्रमा सौर्य ऊर्जामार्फत सञ्चालन हुने टावर जडान गरिएको उनले जानकारी दिए ।
हाल जिल्लाभर १३२ मोाइल टावर बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) सञ्चालनमा रहेका छन् । भौगोलिक विकटता, अग्ला रुख तथा घरका संरचनाका कारण केही स्थानमा अझै नेटवर्क समस्या देखिने गरेको प्रमुख चौधरीले बताए । जनघनत्व वृद्धि, विशेष कार्यक्रम तथा भीडभाडका समयमा मोबाइल तथा इन्टरनेट प्रयोगकर्ता बढ्ने भएकाले आवश्यकताअनुसार अतिरिक्त उपकरण जडान गर्दै सेवा क्षमता विस्तार गरिएको उनको भनाइ छ ।
आगामी आर्थिक वर्षमा तत्काल १० वटा नयाँ मोबाइल टावर निर्माण गरिने र आवश्यकता तथा मागका आधारमा जिल्लाका अन्य स्थानमा पनि थप टावर निर्माण तथा क्षमता विस्तार गरिने प्रमुख चौधरीले जानकारी दिए । विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित हुने समस्यालाई समाधान गर्न पश्चिम चितवन, दिव्यनगरलगायतका क्षेत्रमा वैकल्पिक ऊर्जा तथा ब्याकअप प्रणाली विस्तारको कामसमेत अघि बढाइएको उनको भनाइ छ ।


