काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेकाले मौसममा व्यापक बदलाव आएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसोभरि नै देशभर अधिकांश बदली रहने महाशाखाको अनुमान छ। यस क्रममा देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै पहाडी भू-भागका धेरै स्थानहरूमा र तराईका केही क्षेत्रहरूमा पनि मेघगर्जन र चट्याङसहित मध्यमस्तरको वर्षा तथा हिमपात हुन सक्ने देखिन्छ।
विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
आज रातिको समयमा पनि देशभर साधारणतया बादल लाग्ने सम्भावना छ। राति हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ।
त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका धेरै स्थानमा र कर्णाली प्रदेशको पहाडी एवं सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जनसहित वर्षाको योग छ।
रातिको समयमा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानहरूमा विशेष सावधानी अपनाउन आवश्यक देखिन्छ।


