बसन्त पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’ को दोस्रो संस्करण प्रकाशन

एटुजेड समाचार

काठमाण्डौ –  आख्यानकार तथा पत्रकार बसन्त पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’ को दोस्रो संस्करण प्रकाशन भएको छ । पहिलो संस्करणप्रति पाठकको उल्लेखनीय रुचि र बढ्दो मागपछि शिखा प्रकाशनले दोस्रो संस्करण बजारमा ल्याएको हो ।

दोस्रो संस्करणको मगलवार एक कार्यक्रमका विच स्रष्टा समाज चितवनका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाई लगाएतले संयुक्त रुपमा विमोचन गरे ।

शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बखान’ पाठकहरूले सर्वाधिक मन पराएको कृतिमध्ये एक बनेको बताए । उनका अनुसार उपन्यासमा चितवनको इतिहास, २००७ सालको बन्दीपुर क्रान्ति तथा २०१८ सालको भरतपुर क्रान्तिलाई तथ्यपरक र साहित्यिक ढंगले प्रस्तुत गरिएकाले पाठकको विशेष रुचि प्राप्त गरेको हो ।

नेपालका पहिलो सहकारी अभियन्ता तथा समाजसेवी बखानसिंह गुरुङको जीवनसंघर्षलाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासमा चितवनको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा ऐतिहासिक रूपान्तरणलाई आख्यानात्मक शैलीमा चित्रण गरिएको छ ।

लेखक बसन्त पराजुलीले आफ्नो कृतिको दोस्रो संस्करण प्रकाशन हुनु आफ्ना लागि ठूलो उपलब्धि भएको बताए । उनले उपन्यासप्रति देखाएको माया, विश्वास र निरन्तर साथका लागि सम्पूर्ण पाठकप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रिमी आइज’ प्रकाशित भइसकेका छन् भने ‘बखान’ उनको ऐतिहासिक विषयवस्तुमा आधारित चर्चित उपन्यासका रूपमा स्थापित भएको छ ।

देशमा भएका विभिन्न क्रान्तिको जगमा बसेर तयार भएको बखानमा चितवनको बढ्दो बस्ती विकास, जैविक विविधता संरक्षणमा केन्द्रित भएर पनि लेखिएको उपन्यास हो । दोस्रो संस्करण प्रकाशनसँगै यो कृतिले अझ धेरै पाठकमाझ पुग्ने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु