५६ बर्षे लायन्स इतिहासमा नेपालबाट पहिलोपटक डिष्ट्रीक ३२५ आर ´टप डिष्ट्रीक` अवार्डबाट सम्मानित

एटुजेड समाचार

हङकङ- हङकङमा सम्पन्न लायन्स अन्तर्राष्ट्रियको १०८औँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। ५६ वर्षे लायन्स इतिहासमा पहिलोपटक नेपालका लायन्स डिष्ट्रिक्ट ३२५ आर विश्वकै ‘टप डिष्ट्रिक्ट’ अवार्डबाट सम्मानित भएको छ ।

डिष्ट्रिक्ट गभर्नर नबराज सापकोटाका अनुसार उक्त सम्मान डिष्ट्रिक्टका सम्पूर्ण सदस्य, पदाधिकारी, क्लब तथा शुभेच्छुकहरूको सामूहिक प्रयास, अनुशासन र सेवाभावको प्रतिफल हो। उनले यो उपलब्धिले नेपाली लायन्स आन्दोलनलाई अन्तर्राष्ट्रिय रूपमा थप प्रतिष्ठित बनाएको बताए।

उनले कार्यकालको सुरुदेखि नै तय गरिएका लक्ष्यअनुसार डिष्ट्रिक्टका मेन्टर, डीजी टिम, जीएटी टिम, जोन तथा रिजन पदाधिकारी, क्लब अध्यक्ष र सदस्यहरूको सक्रिय सहभागिताले यो सफलता सम्भव भएको उल्लेख गरे। सबैको समर्पण, सहकार्य र नेतृत्वप्रति उनले आभार व्यक्त गरे।

डिष्ट्रिक्टका अनुसार कार्यकालभर देशका विभिन्न जिल्लामा ३ हजार ६ सयभन्दा बढी सेवा गतिविधि सञ्चालन गरिएका थिए। ती कार्यक्रमबाट झण्डै चार लाख नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् राहत, भोकमरी न्यूनीकरण, दृष्टि संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रमहरूले अन्तर्राष्ट्रिय मूल्याङ्कनमा उत्कृष्ट स्थान हासिल गर्न सहयोग पुगेको जनाइएको छ।

गभर्नर सापकोटाले यो सम्मानलाई उपलब्धिको अन्तिम बिन्दु नभई थप जिम्मेवारीको सुरुआतका रूपमा लिनुपर्ने बताए। उनले आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी सेवा अभियान सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरे।

लायन्सको अन्तर्राष्ट्रिय आदर्श वाक्य “We Serve” लाई आत्मसात् गर्दै डिष्ट्रिक्ट ३२५ आरले सेवा, नेतृत्व र मानवीय सहयोगका क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको उनको भनाइ छ।

विश्वकै उत्कृष्ट डिष्ट्रिक्टको सम्मान प्राप्त गरेसँगै डिष्ट्रिक्ट ३२५ आरले नेपाली लायन्स इतिहासमा नयाँ अध्याय थपेको छ। यस उपलब्धिलाई नेपालका लायन्स सदस्यहरूले अन्तर्राष्ट्रिय समुदायमा नेपालको सेवा अभियानले प्राप्त गरेको गौरवपूर्ण सफलताका रूपमा लिएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु