काठमाडौं- विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत राउण्ड अफ १६ मा आज राति ब्राजिल र नर्वेबीच रोमाञ्चक भिडन्त हुँदैछ । पाँच पटकको विश्व विजेता ब्राजिल र युरोपेली टोली नर्वे न्यू जर्सी स्टेडियममा नेपाली समय अनुसार आज राति पौने दुई बजे प्रतिस्पर्धामा उत्रिँदैछन् । यस खेलमा विश्व फुटबलका दुई चर्चित फरवार्डहरू ब्राजिलका भिनिसियस जुनियर र नर्वेका एर्लिङ हालान्डबीचको रोचक प्रतिस्पर्धा हेर्न पाइनेछ ।
विश्व फुटबलमा ऐतिहासिक दबदबा बनाएको ब्राजिलका लागि नर्वे सधैँ कठिन प्रतिद्वन्द्वी सावित हुँदै आएको छ । विगतमा ब्राजिल र नर्वेबीच भएका चार भेटमा ब्राजिलले एक खेल पनि जितेको छैन । चारमध्ये नर्वेले दुई खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ । ब्राजिल यस पटक पाँचौँ प्रयासमा इतिहास बदल्ने दाउमा छ ।
कार्लो एन्सेलोटीको प्रशिक्षणमा रहेको ब्राजिलियन टोलीले यसअघि अन्तिम ३२ को खेलमा जापानविरुद्ध संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । समूह ‘सी’ को विजेता बन्ने क्रममा ब्राजिलले स्कटल्यान्ड र हाइटीलाई हराएको थियो भने मरोक्कोसँग बराबरी खेलेको थियो ।
अर्कोतर्फ, समूह ‘आई’ को उपविजेता बन्दै नकआउट चरण पुगेको नर्वेले इराक र सेनेगललाई हराएको थियो भने फ्रान्ससँग पराजित भएको थियो । अन्तिम ३२ को खेलमा नर्वेले आइभोरी कोस्टलाई हरायो । नर्वेली टोलीका लागि स्टार स्ट्राइकर एर्लिङ हालान्ड मुख्य आकर्षण हुन् ।
पहिलो पटक विश्वकप खेलिरहेका २५ वर्षीय हालान्डले प्रतियोगितामा एक्लै ५ गोल गरिसकेका छन् । ब्राजिलका लागि भिनिसियस जुनियर सबैभन्दा प्रभावशाली खेलाडीका रूपमा देखिएका छन् । उनले जारी प्रतियोगितामा ४ गोल गरिसकेक छन् । आजको खेल जित्ने टोलीले आगामी शनिबार मियामीमा हुने क्वार्टरफाइनल खेलमा मेक्सिको र इङ्गल्यान्डको खेलमा जित हासिल गर्ने टोलीको सामना गर्नेछ ।


