चितवन – चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणमा परी आमा र छोराको दर्दनाक मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र आसपासबाट बस्तीमा पसेको जंगली हात्तीले शनिबार मध्यरातमा स्थानीय एक कच्ची घरमा आक्रमण गर्दा यो दुःखद घटना घटेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हात्तीको आक्रमणमा परी घरभित्र सुतिरहेकी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको घटनास्थलमा नै मृत्यु भएको छ।
हात्तीले मध्यरातमा एक्कासि घर भत्काउन थालेपछि आत्तिएका परिवारका सदस्यहरू सुरक्षित स्थानमा भाग्न नपाउँदै हात्तीको फेला परेका थिए।
हात्तीले घरमा आक्रमण गरेपछि आशिकाका श्रीमान् पूर्ण बोटेले जंगली हात्तीलाई धपाउने प्रयास गरेका थिए। उनले हात्तीलाई भगाउनका लागि आगो बाल्ने क्रममा अचानक उनीहरूकै फुस र काठले बनेको कच्ची घरमा आगो सल्किन पुगेको थियो।
एकातिर हात्तीको संहार र अर्कोतिर घरमा लागेको आगोका कारण सो क्षेत्रमा केही समय निकै तनाव र कोलाहल मच्चिएको थियो। घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाहरूको अथक प्रयासमा घरको आगो नियन्त्रणमा लिइएको थियो।
यो घटनासँग ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । २०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झण्डै ९ वर्षपछि यी दुई आमा छोराको ज्यान लिएको हो । धेरै जसो निकुञ्जको सुखीभार क्षेत्रमा नै रहने यो हात्ती अचानक बस्तीतिर निस्केको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रुपमा परिचित ध्रुवेले २०६८/०६९ सालताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि ०६९ सालको पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो । तर, यो हात्ती सेनाको गोलीबाट बच्दै आएको छ । ध्रुवे हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चारजनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो ।
वि.सं. २०६६ साल माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको ध्रुवेले २०६९ सालसम्म १५ जनालाई मारेको थियो । चितवनको माडीमा यसको आतंक अत्याधिक थियो । यसलाई मार्नका लागि १६ लाख रुपैयाँ खर्च भयो । सेनाको गोलीबाट भागेको ध्रुवे एकाएक पाँच वर्ष वेपत्ता भयो । पछि फेरि निकुञ्जको सुखीभार क्षेत्रमा पुनः देखिन थाल्यो ।


