धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

मकवानपुर –  हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि मंगलबार राति करिब ११ः५५ बजे आक्रमण भएको थियो ।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–५ निवासी ३३ वर्षीय सविन नेपालीले तामाङलाई कुटपिट गर्नुका साथै शरीरका विभिन्न भागमा धारिलो हतियार (टाप) प्रहार गरेका थिए। उक्त आक्रमणबाट तामाङ गम्भीर घाइते भएका थिए । घटनालगत्तै अभियुक्त फरार भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले तीव्र खोजतलास अभियान सञ्चालन गरेको थियो।

अनुसन्धान तथा सूचनाका आधारमा प्रहरीले बुधबार बिहान करिब २ बजे अभियुक्त सविन नेपालीलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । पक्राउका क्रममा घटनामा प्रयोग भएको धारिलो हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेपालीविरुद्ध ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । यसका लागि मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु