नवलपुर – नवलपुरको गैँडाकोटकी २८ वर्षीया नर्स सन्तोषी श्रेष्ठ तिन दिनदेखि सम्पर्कविहीन भएपछि उनको खोजी कार्य तीव्र पारिएको छ। उनी असार १४ गते साँझ घरबाट निस्किएपछि परिवारसँग सम्पर्कमा आएकी छैनन्।
खोजीका क्रममा उनले प्रयोग गरेको स्कुटर तनहुँको देवघाटस्थित हनुमानचोकमा पार्किङ गरिएको अवस्थामा फेला परेको छ। तर, उनी भने अझै बेपत्ता रहेकाले घटनाले थप रहस्य पैदा गरेको छ। यता उनको स्कुटर भेटिनु तर उनि नभेटिनुले परिवारमा रुवाबासी र थप चिन्ता बढेको छ।
प्रहरीले नदी किनार, जंगल तथा आसपासका क्षेत्रमा खोजीलाई निरन्तरता दिएको छ। स्थानीय बासिन्दा, स्वयंसेवक र उद्धार टोलीसमेत खोजी अभियानमा जुटेका छन्।
परिवारले सामाजिक सञ्जालमार्फत सन्तोषीको अवस्थाबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा ९८५५०५९८५३ नम्बरमा खबर गरिदिन सबैसँग अनुरोध गरेका छन।
प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ। सन्तोषीको अवस्था अझै अज्ञात रहेकाले परिवारका सदस्य र स्थानीयवासीमा चिन्ता बढ्दै गएको छ।


