दही–चिउरा स्वास्थ्यका लागि लाभदायी : जनस्वास्थ्यविद डा.उप्रेती

एटुजेड समाचार

काठमाडौं – असार १५ अर्थात् दही–चिउरा खाने दिन नेपाली संस्कृति र स्वास्थ्य दुवैसँग जोडिएको विशेष अवसर हो । धान रोपाइँको व्यस्त मौसममा शरीरलाई आवश्यक ऊर्जा, पोषण र पाचन स्वास्थ्य कायम राख्न परम्परादेखि नै दही–चिउरा खाने चलन रहिआएको छ ।

दही–चिउरा केवल सांस्कृतिक परम्परा नभई वैज्ञानिक रूपमा पनि स्वास्थ्यका लागि लाभदायी भोजन भएको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले दहीले पेटको स्वास्थ्य र पाचन प्रणालीलाई सुदृढ बनाउने तथा चिउराले पर्याप्त ऊर्जा प्रदान गर्ने भएकाले यो परिकार असार १५ मा मात्र होइन, वर्षभरि पनि नियमित रूपमा खान सकिने स्वस्थकर नेपाली भोजन भएको बताइन् ।

उनले दही–चिउरा शरीरका लागि पोषिलो र सन्तुलित भोजन भएपनि यसलाई सबै रोगको औषधि वा चमत्कारी भोजनका रूपमा लिन नहुने स्पष्ट पारिन् ।

उनका अनुसार दहीले पेटको स्वास्थ्य सुधार्न, पाचन प्रणालीलाई सन्तुलित राख्न तथा शरीरमा आवश्यक लाभदायी जीवाणु (प्रोबायोटिक्स) उपलब्ध गराउन मद्दत गर्छ। यही कारणले नेपाली भोजन संस्कृतिमा परापूर्वकालदेखि दही र मोहीको विशेष स्थान रहँदै आएको छ।

उनले भनिन्,‘दही भनेको शरीरको स्वास्थ्यलाई राम्रो बनाउने खानेकुरा हो । यसले पेटको स्वास्थ्यलाई एकदम राम्रो बनाउँछ । त्यसैले पहिलेदेखि नै दही र मोही हाम्रो भोजनको अभिन्न अंग थिए ।’

डा.उप्रेतीका अनुसार असार महिनामा धान रोपाइँको कठिन श्रम गर्ने किसानका लागि दही–चिउरा उपयुक्त ऊर्जा दिने भोजन थियो । पहिले अहिलेजस्तो बजारमा सहज रूपमा खानेकुरा उपलब्ध नहुने भएकाले लामो समयसम्म नबिग्रिने चिउरा र दही खेतसम्म लैजान सजिलो हुने गर्दथ्यो ।

उनले भनिन्,‘चिउरा लामो समयसम्म बिग्रँदैन। यसमा पर्याप्त कार्बोहाइड्रेट, ऊर्जा, केही प्रोटिन र अन्य पोषक तत्व हुन्छन्। दहीसँग खाँदा यसले शरीरलाई आवश्यक ऊर्जा दिनुका साथै पाचन प्रणालीलाई पनि राम्रो बनाउँछ ।’उनका अनुसार किसानहरूलाई गर्मीमा डिहाइड्रेसन हुन नदिन दही, मोही र चिउरा खाने चलन विकसित भएको हो। अहिले पनि यो परम्पराको वैज्ञानिक आधार रहेको उनको भनाइ छ ।

फलफूल मिसाएर खानु पनि राम्रो

अहिले दही–चिउरामा विभिन्न फलफूल मिसाएर खाने चलन बढ्दै गएको छ । यसबारे डा. उप्रेतीले स्वस्थकर खानेकुरासँग फलफूल मिसाएर खानु झन् लाभदायी हुने बताइन्।‘पहिला फलफूल मिसाएर खाने चलन थिएन । अहिले स्वस्थकर खानेकुरासँग फलफूल वा अन्य परिकार मिसाएर खानु राम्रो कुरा हो,’ उनले भनिन् ।

तौल घटाउन सहयोग गर्छ, तर…

दही–चिउराले तौल घटाउँछ भन्ने धारणा आंशिक रूपमा सही भएको उनको भनाइ छ ।उनले स्पष्ट पारिन्, ‘दही–चिउरा खाँदा थोरै खाए पनि पेट भरिएको महसुस हुन्छ र लामो समयसम्म भोक लाग्दैन । त्यसैले बढी खाने बानी कम हुन्छ । यही कारणले तौल नियन्त्रणमा सहयोग पुग्न सक्छ। तर दही–चिउरा खाएर फेरि अन्य धेरै क्यालोरीयुक्त खाना खाइयो भने तौल घट्दैन।’

तनाव हटाउने औषधि होइन

दही–चिउराले तनाव र चिन्ता हटाउँछ भन्ने दाबीलाई उनले वैज्ञानिक रूपमा पुष्टि नभएको बताइन्।

‘कुनै पनि स्वस्थकर खानेकुराले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर दही–चिउरा खाँदैमा तनाव वा चिन्ता हट्छ भन्ने होइन । मानसिक स्वास्थ्य राम्रो हुन जीवनशैली, नियमित आहार, पर्याप्त निद्रा र अन्य बानीहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन्,’ उनले भनिन्।

वर्षभरि खानुपर्ने सल्लाह

डा. उप्रेतीले दही–चिउरा असार १५ मा मात्र नभई वर्षभरि नियमित रूपमा खान सुझाव दिइन् । उनले विशेष गरी बालबालिकालाई जंकफुडभन्दा नेपाली परम्परागत पौष्टिक भोजन खुवाउनुपर्नेमा जोड दिँदै भनिन्, ‘दही–चिउरा असार १५ गते मात्रै खाने होइन । हप्तामा एक–दुई पटक पनि खान सकिन्छ । बालबालिकालाई चाउचाउ, बिस्कुट वा जंकफुडभन्दा यस्ता परम्परागत स्वस्थकर खानेकुरा दिनुपर्छ । यसले उनीहरूलाई सानैदेखि राम्रो भोजन संस्कृति र स्वस्थ जीवनशैली सिकाउँछ ।’

उनले सबै नेपालीलाई राष्ट्रिय धान दिवस तथा दही–चिउरा पर्वको शुभकामना दिँदै स्वस्थकर परम्परागत भोजनलाई दैनिक जीवनमा पनि अपनाउन आग्रह गरिन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु