चितवन – चितवनमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। रातिदेखि सुरु भएको वर्षा सोमबार बिहान पनि निरन्तर जारी रहेकाले जनजीवन प्रभावित बनेको छ। लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव कायम रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आगामी २–३ दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। लगातार वर्षाका कारण नदी–नाला, पहाडी क्षेत्र तथा होचा भूभागमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।


