चितवन – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । आइतबार आयोजित ‘सहजीकरण तथा सम्मान समारोह’मा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित विद्यालय, विद्यार्थी तथा तिनका अभिभावकलाई सम्मान गरिएको हो ।
समारोहमा एसइई परीक्षा २०८२ मा ५० भन्दा बढी विद्यार्थी सहभागी गराई उत्कृष्ट नतिजा ल्याउने भरतपुरस्थित लिटिल फ्लावर स्कुल, अङ्कुरम् एकेडेमी र पोलार स्टार इङग्लिस स्कुललाई सम्मान गरिएको थियो । त्यसैगरी, विद्यार्थी संख्या मापदण्डभन्दा कम भए पनि शतप्रतिशत नतिजा हासिल गरेका भरतपुर–१८ स्थित न्यू चित्रवन इङ्ग्लिस स्कुल र कुरिनटारको प्रगति शिक्षा सदनलाई पनि सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा एसइई परीक्षामा ४.० जिपिए प्राप्त गर्ने ७६ जना विद्यार्थीलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । सम्मानित विद्यार्थीमध्ये दुई जनाले पुनर्योगमार्फत ४.० जिपिए प्राप्त गरेको जानकारी प्याब्सन चितवनका कोषाध्यक्ष युवराज पौडेलले दिए । उनले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गर्नुको उद्देश्य गुणस्तरीय शिक्षालाई थप प्रोत्साहन गर्नु रहेको बताए ।
कार्यक्रममा आदर्श विद्या आश्रम, भण्डाराकी ४.० जिपिए प्राप्त छात्रा खुसी बर्तौलाले आफ्नो सफलताको अनुभव सुनाउँदै आत्मानुशासन, नियमित अध्ययन र समय व्यवस्थापन नै सफलताको मुख्य आधार भएको बताइन् । उनले दैनिक अध्ययनको तालिका बनाएर निरन्तर अभ्यास गरेको उल्लेख गर्दै यो उपलब्धि आफ्नो व्यक्तिगत प्रयासमात्र नभई परिवार, शिक्षक र विद्यालयको निरन्तर सहयोगको प्रतिफल भएको धारणा व्यक्त गरिन् ।
समारोहलाई सम्बोधन गर्दै शिक्षक–अभिभावक संघ चितवनका अध्यक्ष सूर्यकान्त न्यौपानेले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा सरकारले कर लगाउनु असान्दर्भिक भएको टिप्पणी गरे । निजी विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी निम्न तथा मध्यम आय भएका परिवारका रहेको उल्लेख गर्दै उनले अतिरिक्त करले अभिभावकमाथि थप आर्थिक भार पर्ने बताए । गुणस्तरीय शिक्षाप्रति अभिभावकको विश्वासका कारण निजी विद्यालय रोज्ने अवस्था रहेको भन्दै शिक्षामा कर लगाउने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरे ।
शैक्षिक प्रशासन महाशाखा भरतपुरका प्रमुख सुवासचन्द्र आचार्यले ४.० जिपिए केवल अंकको उपलब्धि नभई निरन्तर मेहनत, अनुशासन र सही मार्गदर्शनको परिणाम भएको बताए । उनले विद्यार्थीलाई सिर्जनशील सोच विकास गर्दै जीवनका आगामी चुनौती सामना गर्न प्रेरित गरे । सफलताको कुनै छोटो बाटो नहुने उल्लेख गर्दै निरन्तर अभ्यास, लगनशीलता र अनुशासनबाट मात्रै लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षा विकास तथा समन्वय इकाइ चितवनका प्रमुख लक्ष्मण देवकोटाले विद्यार्थीलाई एसर्ईको सफलतालाई निरन्तरता दिँदै कक्षा १२ सम्म अझ संयमित र जिम्मेवार भएर अध्ययन गर्न आग्रह गरे । उनले पछिल्लो समय उच्च शिक्षा अध्ययनपछि विदेश पलायन हुने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै देशमै रहेर आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गर्न विद्यार्थीलाई प्रेरित गरे । ‘देशलाई सक्षम र दक्ष युवाशक्ति आवश्यक छ । तपाईंहरू देशमै बसेर उदाहरणीय बन्नुहोला,”’उनले भने ।
कार्यक्रमकै अवसरमा सोमबारदेखि अवकाशमा जान लागेका प्रमुखअतिथि देवकोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्याब्सन आन्दोलनका अग्रज तथा चितवन इङ्ग्लिस स्कुलका केशव श्रेष्ठले सम्मान प्रदान गरेका थिए । कार्यक्रममा शिक्षा क्षेत्रको विकास र विद्यालयहरूको सबलीकरणमा देवकोटाले पु¥याएको योगदानको उच्च प्रशंसा गरिएको थियो ।
मेट्रो प्याब्सनका अध्यक्ष मीनराज बस्ताकोटीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले गरेका थिए । समापन मन्तव्यमा अध्यक्ष पुरीले निजी विद्यालयमाथि लगाइएको ३ प्रतिशत अतिरिक्त करको विरोध गर्दै यसले प्रत्यक्षरूपमा अभिभावकलाई आर्थिक मार पर्ने बताए । सरकारले शिक्षक तथा कर्मचारीको तलबमान २१ प्रतिशत वृद्धि गरेकाले विद्यालय सञ्चालन खर्च बढेको उल्लेख गर्दै शुल्क समायोजन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
अध्यक्ष पुरीले निजी विद्यालय पनि समुदायकै सम्पत्ति भएको उल्लेख गर्दै शिक्षाजस्तो आधारभूत क्षेत्रमा कर लगाउने निर्णयविरुद्ध समुदायस्तरबाट आवाज उठाउन अभिभावकलाई आग्रह गरे । उनले चितवनमा विद्यालयीय शिक्षामात्र नभई मेडिकल शिक्षाको गुणस्तर पनि उत्कृष्ट रहेको उल्लेख गर्दै उच्च शिक्षा अध्ययनका लागि अनावश्यकरूपमा जिल्लाबाहिर गएर अभिभावकमाथि आर्थिक बोझको कारक नबन विद्यार्थीलाई आग्रह गरे । गुणस्तरीय शिक्षा, आवश्यक सुविधा र उज्ज्वल भविष्य निर्माणका अवसर चितवनमै उपलब्ध रहेको उनको जिकिर थियो ।


