रास्वपाको ‘धनी जिल्ला’ बन्यो चितवन

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन चितवनमा सम्पन्न भएको छ। असार ७ गतेदेखि सुरु भएको महाधिवेशन असार १२ गते साँझ सम्पन्न भएको हो।

सम्पन्न महाधिवेशनबाट चितवनबाट मात्रै पदाधिकारी र केन्द्रीय सदस्य गरी आठ जना निर्वाचित भएका छन्।

पार्टीको सभापतिमा यसअघिका सभापति रवि लामिछाने पुनः निर्वाचित भएका छन्। उनी चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनी तीन पटक चितवन–२ बाट निर्वाचित भइसकेका छन्। पछिल्लो समय उनी भाडाको घर लिएर चितवनमै बसोबास गर्दै आएका छन्।

त्यस्तै, पार्टीको उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन्। उनी चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

यसैगरी, सह–महामन्त्रीमा हरि ढकाल निर्वाचित भएका छन्। उनी चितवन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यससँगै पदाधिकारीमा मात्रै चितवनका तीन जना प्रतिनिधिसभा सदस्य पुगेका छन्।

यस्तै, केन्द्रीय सदस्यमा प्रभा ढकाल, प्रकृति ढकाल, समिना मियाँ, आकांक्षा पोखरेल र सबिना बिक निर्वाचित भएका छन्। रास्वपाको उद्गमस्थल चितवनबाट आठ जना केन्द्रीय सदस्य तथा पदाधिकारी निर्वाचित हुनु जिल्लाको राजनीतिक प्रभावका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

रास्वपाको प्रथम महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी भएका थिए। ९९ जना केन्द्रीय सदस्यका लागि ३८४ जनाले उम्मेदवारी दिएका थिए भने सात पदाधिकारीका लागि २५ जनाबीच प्रतिस्पर्धा भएको थियो।

महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना गरिएको थियो भने बन्दसत्र र मतदान चितवन उद्योग संघको परिसरमा सम्पन्न भएको थियो। बन्दसत्र र मतदान निर्धारित समयभन्दा ढिला भएपछि तीन दिनका लागि तय गरिएको महाधिवेशन अन्ततः छ दिनमा सम्पन्न भएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु