चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन यतिबेला चितवनमा जारी छ। असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू चितवनमा आएका छन्।
महाधिवेशनका कारण चितवनको होटल व्यवसायमा उल्लेखनीय चहलपहल बढेको छ। होटल व्यवसायमा आर्थिक गतिविधि चलायमान बनेको छ भने व्यवसायीहरूमा उत्साह थपिएको छ। यतिबेला चितवनका अधिकांश होटलका कोठा भरिएका छन् र नयाँ पाहुनाले कोठा पाउनसमेत कठिन भइरहेको छ।
भरतपुर, सौराहा, टाँडी तथा गैंडाकोट क्षेत्रका होटलहरूमा देखिएको भीडभाडको मुख्य कारण रास्वपाको महाधिवेशन नै हो। महाधिवेशनमा सहभागी प्रतिनिधिको संख्या झण्डै चार हजारभन्दा बढी रहेको छ। स्वदेशी तथा विदेशी प्रतिनिधि, शुभेच्छुक, नेता–कार्यकर्ता, पर्यवेक्षक तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थितिले जिल्लामा चहलपहल बढाएको हो।
होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष ऋषिकेश अर्यालले महाधिवेशनका कारण होटल व्यवसायमा उल्लेखनीय चहलपहल बढेको बताए। उनका अनुसार प्रतिनिधिहरूले असार ६ गतेदेखि नै होटलका कोठा बुकिङ गर्न थालेका थिए, जसका कारण हिजोसम्म कोठा पाउन निकै कठिन भएको थियो। आज भने अघिल्ला तीन दिनको तुलनामा पाहुनाको चाप केही कम भएको उनले बताए।
महाधिवेशनमा सहभागी पाहुनाका लागि खानामा १० प्रतिशत र आवासमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अर्यालले जानकारी दिए। प्रतिनिधिहरूलाई बसोबास र खानपानमा कुनै समस्या नहोस् तथा आवास व्यवस्थापनमा एकरूपता कायम होस् भन्ने उद्देश्यले होटल व्यवसायी सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष यज्ञबहादुर कार्कीको नेतृत्वमा अनुगमन समिति गठन गरी नियमित अनुगमनसमेत गरिएको थियो।
यस व्यवस्थापनका कारण चितवनका होटलहरूमा सहज, सरल र व्यवस्थित ढङ्गले आवासको व्यवस्था मिलाइएको थियो। साथै, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा प्रतिनिधिहरूलाई सहजता प्रदान गर्न रेस्टुरेन्टहरूलाई सामान्य समयभन्दा एकदेखि डेढ घण्टासम्म बढी सञ्चालन गर्न अनुमति दिइएको थियो। यसले होटल तथा रेस्टुरेन्ट व्यवसायमा थप चहलपहल बढाएको अर्यालले बताए।
उनले यस्ता राष्ट्रियस्तरका कार्यक्रमहरूले होटल व्यवसाय र पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने भएकाले चितवनमा यस्ता कार्यक्रम आयोजना हुनु सकारात्मक पक्ष रहेको उल्लेख गरे।
रास्वपा महाधिवेशनका लागि गठित आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमका अनुसार चितवनका तीन हजारभन्दा बढी होटल कोठा महाधिवेशनमा सहभागी प्रतिनिधि तथा पर्यवेक्षकहरूले उपयोग गरेका छन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले आफ्नो आवास खर्च आफैं व्यहोर्ने व्यवस्था गरिएको थियो। आयोजकले असार ७ गतेको बन्दसत्रका लागि मात्र भोजनको व्यवस्था गरेको थियो भने अन्य समयमा सहभागीहरूले आफैंले खानपानको व्यवस्था गर्नुपरेको थियो। यही कारण होटल तथा रेस्टुरेन्ट व्यवसायमा प्रत्यक्ष प्रभाव परेको र चितवनका होटलहरू भरिभराउ भएको बताइएको छ।
तस्विर : एआईको साहयताबाट


