विश्वकप २०२६ : नेदरल्यान्ड्स–जापान भिडन्त हुँदै

एटुजेड समाचार

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ मा युरोपेली पावरहाउस नेदरल्यान्ड्स र एसियाली बादशाह जापानबीच भिडन्त हुँदैछ। खेल अमेरिकाको टेक्ससस्थित एटी एन्ड टी स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान पौने २ बजे सुरु हुनेछ। फिफा वरीयतामा आठौँ स्थानमा रहेको नेदरल्यान्ड्स र १८औँ स्थानमा रहेको जापान दुवै टोली समूह चरणको पहिलो खेलमै जित निकाल्दै नकआउट चरणतर्फ बलियो सुरुआत गर्ने लक्ष्यमा छन्।

नेदरल्यान्ड्स तीन पटक विश्वकप उपविजेता रहिसकेको टोली हो र छनोट चरणमा अपराजित रहँदै प्रतियोगितामा प्रवेश गरेको छ। चोटका कारण जुरिन टिम्बर, जाभी सिमोन्स र जर्डी स्काउटन अनुपस्थित भए पनि कप्तान भर्जिल भान डाइक, फ्रेन्की डी जोङ र कोडी गाक्पोजस्ता स्टार खेलाडी टोलीको मुख्य आधार हुनेछन्। टिम्बरको स्थानमा लुट्सारेल गेर्ट्रुइडालाई समावेश गरिएको छ।

यता जापान लगातार आठौँ विश्वकप खेलिरहेको बलियो एसियाली टोली हो । उसले मैत्रीपूर्ण खेलहरूमा ब्राजिल र इङ्ल्यान्डजस्ता विश्वविजेता टोलीलाई पराजित गर्दै उत्कृष्ट फर्म देखाएको छ। तर चोटका कारण काओरु मितोमा, ताकुमी मिनामिनो र कप्तान वातारु एन्डो अनुपस्थित छन्। एन्डोको अनुपस्थितिमा को इताकुराले कप्तानी सम्हाल्नेछन् भने आक्रमणको जिम्मा अयासे उएडाले लिनेछन्। विश्वकपमा यी दुई टोलीबीच यो दोस्रो भेट हो, जहाँ सन् २०१० मा नेदरल्यान्ड्सले १–० ले जित निकालेको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु