रामेछाप – दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित पिपलबोट नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार शुक्रबार राति भएको दुर्घटनामा दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठ को मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा राखिएको छ।
दुर्घटनामा वैतेश्वर गाउँपालिका–२ पुतलीकाठका २६ वर्षीय उमेश तामाङ र भीमेश्वर नगरपालिका–६ चोथाङका १९ वर्षीय विवेक थामी गम्भीर घाइते भएका छन्। घाइते दुवै जनाको चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चरिकोटबाट जिरीतर्फ जाँदै गरेको बा.प्र ०२–०६२ प ८४८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट चरिकोटतर्फ आउँदै गरेको बा.८० प ७९७३ नम्बरको मोटरसाइकल भीमेश्वर नगरपालिका–५ को पिपलबोट क्षेत्रमा एकापसमा ठोक्किएका थिए।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।


