चितवन – निजामती कर्मचारीले स्वास्थ्य उपचारका लागि काठमाडौंकै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले प्रदेश स्तरमै उक्त अस्पतालको सेवा विस्तार गरेको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (सोमबार) देखि नै लागू हुने गरी विभिन्न प्रदेश अस्पतालहरूबाट कर्मचारीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो।
सेवा प्रदानका लागि भरतपुर अस्पतालसंग सम्झौता भएको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) विश्वबन्धु बगालेले जानकारी दिए । अब भरतपुर अस्पतालबाट कार्ड भएका कर्मचारीहरूले सिभिल अस्पतालले दिने सरहकै सेवा प्राप्त गर्ने उनले बताए ।
सरकारले बागमती प्रदेशका लागि भरतपुर अस्पताल र मधेस प्रदेशका लागि वीरगन्जस्थित नारायणी अस्पतालसँग सम्झौता गरेको हो । सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार काठमाडौं उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारको सहजताका लागि यो नीति ल्याइएको हो।


