सेमिफाइनलमा नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट

एटुजेड समाचार

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानविरुद्ध कसिलो बलिङ गरेको छ।

सिंगापुरमा नेसनल क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट भएको हो ।

ओमानविरुद्ध सुरुदेखि नै कसिलो बलिङ गरेको नेपालका लागि करण केसीले तीन विकेट हात पारे । चार ओभर बलिङ गर्दा एक मेडनसहित २० रन खर्चिएर केसीले तीन विकेट हात पारेका हुन् ।

समान चार ओभर बलिङ गरेका सन्दीप लामिछानेले १९ रन खर्चिएर दुई विकेट हात पारे भने सोमपाल कामीले चार ओभर बलिङ गर्दा समान दुई विकेट लिए । उनले एक मेडन राख्दै २६ रन खर्चिएर दुई विकेट लिएका हुन् । नेपालका लागि साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट हात पारे ।

नेपालको कसिलो बलिङविरुद्ध संघर्ष गरेको ओमानका लागि कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाए । जुबैर अल बालुशीले २२, अब्दुल जलीलले १६ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानबीच पहिलो सेमिफाइनल भएको हो । छनोट चरणका दुवै खेल जित्दै बलियो मनोबलमा रहेको नेपाली टोली ओमानलाई पाखा लगाउँदै उपाधि नजिक पुग्ने लक्ष्यमा छ।

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।

पहिलो जितसँगै एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपालका लागि यो खेल छनोटको उपाधि चुम्ने कडीका रूपमा रहेको छ।

प्रतियोगिताको नियम अनुसार सेमिफाइनल पुग्ने चारै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्। समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट ओमान र हङकङले एसियन गेम्सको टिकट काटेका हुन्।

 

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु