आज यी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

एटुजेड समाचार

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी तराईका भागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित बाँकी हिमाली भागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा अनपेक्षित रूपमा तापक्रम बढ्ने सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेश र बाँकी पहाडी भागमा आंशिक बदली रहनेछ । तराईका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशका केही तथा मधेससहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

साथै मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तापक्रम अधिक हुने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु