काठमाडौं – पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्दैछन्।
नयाँ दिल्लीमा जारी राजनीतिक सक्रियताका क्रममा आज प्रधानमन्त्री मोदीसँग द्विपक्षीय हीतका विषयमा संवाद हुन लागेको हो।
प्रधानमन्त्री मोदीसँगको भेटवार्तालगत्तै सभापति लामिछाने उत्तर प्रदेशको अयोध्या प्रस्थान गर्ने र त्यहाँस्थित ऐतिहासिक राममन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री एवं सांसद विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख एवं सांसद दीपक बोहोरा, र स्वकीय सचिव अविनाश आचार्य (प्रदीप) सामेल छन्। यो टोली आगामी जेठ २२ गते स्वदेश फर्किने तालिका रहेको छ।
सोमबार नयाँ दिल्ली पुगेका सभापति लामिछानेले मंगलबारदेखि नै सघन राजनीतिक भेटघाट सुरु गरेका थिए। सोही क्रममा हिजो उनले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग छुट्टाछुट्टै भेटवार्ता गरे।
विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भेटको तस्बिर सार्वजनिक गर्दै नेपाल-भारत विकास साझेदारी, जनस्तरको सम्बन्ध तथा दुई देशबीचको साझा विकास र समृद्धिलाई प्रवर्द्धन गर्ने विषयमा फलदायी छलफल भएको जानकारी दिएका छन्।
मंगलबार नै लामिछाने नेतृत्वको टोलीले भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय मुख्यालयको भ्रमण गरी शीर्ष नेतृत्वसँग छलफल गरेको थियो।
रास्वपा टोलीलाई भाजपाका वरिष्ठ नेता नीतिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले, र सांसदद्वय सञ्जय जयसवाल तथा बाँसुरी स्वराज लगायतले भव्य स्वागत गरेका थिए।
भाजपा विदेश विभागद्वारा जारी विज्ञप्तिअनुसार उक्त भेटमा विशेष गरी राजनीतिमा ‘जेन-जेड’ अर्थात् नयाँ युवा पुस्ताको बढ्दो भूमिका र सम्भावनामाथि केन्द्रित रहेर छलफल भएको थियो। दुवै पक्षबीच लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस र भावी नेतृत्व निर्माणमा युवाहरूको योगदानबारे विस्तृत विचार आदानप्रदान भएको छ।
भेटका क्रममा भाजपा नेता नीतिन नवीनले नेपाल र भारतबीचको साझा सभ्यता, सांस्कृतिक सम्बन्ध र जनस्तरको सुदृढ ऐतिहासिक सम्बन्धमाथि प्रकाश पार्नुभएको थियो।
सो अवसरमा रास्वपा प्रतिनिधिमण्डलले भाजपाको सदस्यता वितरण प्रक्रिया, उम्मेदवार छनोट प्रणाली, र तल्लो तहका कार्यकर्ताहरूसँग सम्पर्क विस्तार गर्ने सांगठनिक संयन्त्रबारे विशेष चासो राखेको थियो।
जवाफमा भाजपा नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विकास, सेवा, सुशासन र जनकल्याणलाई केन्द्रमा राखेर अघि बढाइएको विकासमुखी सुशासन मोडेलबारे नेपाली टोलीलाई जानकारी गराएका थिए। भ्रमणका क्रममा रास्वपा टोलीले भाजपा मुख्यालयमा रहेको अत्याधुनिक मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो।
राजनीतिक संवादपछि आयोजित दिवाभोजमा दिल्लीकी नेता रेखा गुप्ता लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। भाजपाले यो अन्तर्क्रियाले दुई दलबीचको सम्बन्धलाई थप गहिरो र लोकतान्त्रिक संवादलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।


