फिफा विश्वकप नयाँ नियम, खेलाडीले लुगाले मुख छोपे रेड कार्ड, प्रत्येक हाफमा वाटर ब्रेक

एटुजेड समाचार

काठमाडौं : विश्वकप फुटबल–२०२६ लाई गतिशील र रोचक बनाउनका लागि फिफाले नयाँ नियम बनाएको छ।

फिफाले खेलको गति रोक्ने उद्देश्यले गरिने समय खेर फाल्ने गतिविधिलाई नियन्त्रण गर्न बनाइएका नयाँ नियम मैदानमा रहेका रेफ्रीले कडाइका साथ लागु गर्ने बताएको छ। ४८ टोली सहभागी हुने विश्वकप सुरु हुन अब एक साता समय बाँकी छ।

फिफाको रेफ्री समितिका अध्यक्ष पियरलुयगी कोलिनाले भने, ‘हामी खेलको लयमा आउने अवरोधलाई सकेसम्म कम गर्ने लक्ष्यतर्फ निरन्तर अघि बढिरहेका छौँ। रेफ्रीको निर्णयप्रति आक्रोशित भएर खेल मैदान छोड्ने खेलाडीलाई रातो कार्ड देखाउन सकिने छ। खेलको गति बढाउन रेफ्रीले गोल किक र थ्रो इनका लागि पाँच सेकेन्डको काउन्टडाउन प्रयोग गर्न सक्ने छ।

यदि पाँच सेकेन्डभित्र गोल किक लिइएन भने विपक्षी टोलीलाई कर्नर किक दिइने छ। थ्रो इन पनि पाँच सेकेन्डभित्र नगरिएमा विपक्षी टोलीलाई थ्रो इन प्रदान गरिने छ।

यो नियम गोलरक्षकले बल नियन्त्रणमा लिएपछि आठ सेकेन्डभित्र बल खेलमा फर्काउनुपर्ने नियमसँग मिल्दोजुल्दो छ। यसै गरी परिवर्तित खेलाडीले १० सेकेन्डभित्र मैदान छोड्नुपर्ने छ, चोटपटक वा सुरक्षासम्बन्धी विशेष परिस्थिति भने अपवाद रहने छ।

फिफाले भिडियो सहायक रेफ्री भारका विषयमा पनि थप प्रस्ट पारेको छ। यदि दोस्रो पहेँलो कार्डपछि रातो कार्ड दिइएको निर्णय गलत छ अथवा गलत खेलाडीलाई कार्ड देखाइएको अवस्थामा भारको प्रयोग गर्न सकिने छ। फिफाका अनुसार कर्नर किकमा रेफ्रीको गलत निर्णयमा पनि भारको प्रयोग हुने छ।

नयाँ नियम अनुसार टाकारावपूर्ण अवस्थामा विपक्षी खेलाडीसँग कुरा गर्दा आफ्नो मुख छोप्ने खेलाडीलाई रातो कार्ड प्रदान गरिने छ।

फिफाका अनुसार खेलाडीले हात, पाखुरा वा जर्सीले मुख छोपेर कुरा गरेको अवस्थामा, यदि रेफ्रीले त्यसलाई मैत्रीपूर्ण संवाद नभई टकराभपूर्ण अवस्था ठहर गरेमा रातो कार्ड देखाउन सकिने छ तर मुख छोपिए पनि संवाद टकराभपूर्ण नभएमा कारबाही हुने छैन।

खेललाई गतिशील बनाउने यी सबै प्रयास भए पनि खेलको कुलिङ अवधि भने छोटो नहुन सक्छ। फिफाले प्रत्येक खेलको दुवै हाफको बिचतिर तीन–तीन मिनेटको पानी पिउने विश्राम (वाटर ब्रेक) दिइने जनाएको छ।

 

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु