काठमाडौँ – प्रदीप खड्गीको निर्देशनमा बनेको वेब सिरिज ‘कुरू’ को टिजर सार्वजनिक भएको छ ।
साइन्स फिक्सन जनरामा बनेको सिरिज ८ भागमा तयार गरेको टिमले जनाएको छ । निर्माण टिमले नेपालमा नै पहिलोपटक साइन्स फिक्सनमा सिरिज बनाएको दाबीसमेत गरेको छ ।
फोकस फिक्चर्सको ब्यानरमा बनेको यस सिरिजमा नक्षत्र, ग्रह, अन्तरिक्ष वा अनन्त लोक सम्मिलितको काल्पनिक पृथक ब्रह्माण्ड बनाएर प्रस्तुत गरेको निर्माण टिमको दाबी छ । सम्यक र बिसम्यक देव (मनुष्य) र दानव (मुटेन्ट) को कथा ‘कुरू’मा देख्न पाइने टिमले जनाएको छ।
अनन्त कुमार श्रेष्ठले नेपग्याज्मसँग सहकार्य गरेर सिरिज निर्माण गरेका हुन्।
सिरिजमा सुशील राजोपाध्याय, भिन्तुना जोशी, अर्पण तामाङ, लोमन सागर रेग्मी, प्रविण बजगाईं, यशजंग बोगटी, सनिश शाक्य, रुवेन खड्गी, सुरज व्यन्जनकार, रोजिना सुवाल, सुचित्रा उप्रेती, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, अनु खड्कालगायत कलाकारले अभिनय गरेका छन् ।


