नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

एटुजेड समाचार

काठमाडौं – नेपाल भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

श्रीलंकालाई आज २-० गोल अन्तरले हराउँदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो। नेपालको जितमा रश्मि कुमारी घिसिङ र कप्तान रेनुका नगरकोटेले गोल गरे।

जवाहरलाल नेहरू स्टेडियममा श्रीलंकालाई खेल अवधिभर दबाबमा राख्दै नेपाले जित निकाल्यो।
खेलको १२ औं मिनेटमा सरु लिम्बूले दिएको उत्कृष्ट पासमा किपरसँग वान भर्सेज वानमा रश्मिले खाली पोष्टमा हानेको प्रहार गोल पोष्ट नजिकैबाट बाहिरियो। त्यसपछि पाएको मौकाहरूलाई पनि नेपाली खेलाडीले सदुपयोग गर्न सकेनन्‌।

पहिलो हाफको इन्जुरी समयको तेस्रो मिमेटमा बक्सभित्रबाट रेखा पौडेलले दिएको पासमा रश्मिको प्रहार गोलमा परिणत भयो। रश्मिको यो चौथो अन्तर्राष्ट्रिय गोल हो। यो गोलमा नेपालले १-० को अग्रता बनायो। पहिलो हाफ नेपालको पक्षमा सकियो।

दोस्रो हाफमा पनि नेपालले दबाब कायमै राख्यो। ५४ औं मिनेटमा सरु को प्राहर आकाशियो। ६२ औं मिनेटमा नेपालले अग्रता दुगुना गर्यो। रेनुकाले करिब २५ यार्ड टाढाबाट हानेको प्रहार गोलमा परिणत भयो। नेपाल २-० को अग्रता बनायो।

त्यसपछि ७५ औं मिनेटमा रश्मिले हानेको प्रहार थोरैले बाहिरियो। ७० औं मिनेटमा सरुलाई रिप्लेस गर्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी विर्सना चौधरीले करिब २५ यार्ड टाढाबाट हानेको प्रहार क्रसबारमा लागेर बाहिरियो।

लगत्तै रश्मिले अर्को मौका खेर फालिन। त्यसपछि थप गोल भएन र नेपालले श्रीलंकालाई नवौं पटक हरायो । अहिले सम्म नेपाल श्रीलंकासँग हारेको छैन।

श्रीलंकाले भने खेल अवधिभर नेपालको पोष्टमा चार्ज गर्न सेत सकेन । लगातारको दोस्रो हारमा श्रीलंका समूह चरणबाट बाहिरियो।

नेपालले यसअघि भुटानलाई १-० ले हराएको थियो। नेपाल ६ अंकका साथ समूह विजेता बन्यो । आठौं संस्करणको साफ महिला च्याम्पियनसिपमा नेपाल आठौं पटक सेमिफाइनलमा पुगेको छ। नेपालले पछिल्लो ७ संस्करणमा ६ पटक फाइनलमा पुग्दा एक पटक भने सेमिफाइनलमाबाट हारेको इतिहास छ।

भुटान ३ अंक समू ह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। भुटानले श्रीलंकालाई ४-० ले हराएको थियो।

आजको खेलमा पूजा राना, अनिता बस्नेत र अनिता लाम्जेललाई मीना देउवा, सरु लिम्बु र प्रतिक्षा चौधरीले रिप्लेस गरेका थिए। गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राख्दा अन्जना राना मगरले नेपालको पोस्ट सम्हालिन । रेनुकाले कप्तानी गरिन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु