महिला अधिकारको पूर्ण कार्यान्वयन र सशक्तीकरणमा सरकार प्रतिबद्ध : मन्त्री बादी

काठमाडौं –  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला अधिकारको संरक्षण, प्रवद्र्धन र सशक्तीकरणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् ।आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बादीले संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता रहेको बताइन् ।

उनले नेपाली महिलाले लोकतन्त्र, सामाजिक न्याय, मानव अधिकार तथा राष्ट्रिय स्वाधीनताका आन्दोलनमा पुर्याएको योगदान गौरवपूर्ण रहेको उल्लेख गर्दै वर्तमान अधिकारहरू ऐतिहासिक संघर्ष, त्याग र योगदानको उपलब्धि भएको बताइन् ।

उनले भनिन्, ‘नेपालको संविधानले महिलालाई समानता, सम्मान, सहभागिता, मौलिक हक प्रदान गरेको छ र संविधानको धारा ३८ ले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा अन्त्य गर्दै सम्मान, वंशीय हक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको हक र राज्यका सबै संरचनामा समानुपातिक समावेशी सहभागिताको अधिकार सुनिश्चित गरेको छ ।’

मन्त्री बादीले सरकारद्वारा शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशीलता, सामाजिक सुरक्षा तथा जीविकोपार्जन सुधारका कार्यक्रम सञ्चालन भइरहेको बताइन् । साथै लैङ्गिक हिंसा, घरेलु हिंसा, बालविवाह, छाउपडी, बोक्सी आरोप र दाइजो प्रथाजस्ता कुप्रथाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको उनको भनाइ छ ।

उनले भनिन्, ‘लैंगिक हिंसा, घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, छाउपडी, बोक्सी आरोप, दाइजो प्रथा लगायत सबै प्रकारका विभेद र कुप्रथाको अन्त्यका लागि नेपाल सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ ।’

उनले ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क आपत्कालीन हवाई उद्धार सेवा सञ्चालनमा रहेको जानकारी दिइन् । राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको उल्लेख गर्दै हालको मन्त्रिपरिषद्मा महिलाको सहभागिता ३७.५ प्रतिशत पुगेको बताइन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु