भरतपुर – रास्वपा नेतृत्वको सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा चितवनले अपेक्षाअनुसार प्राथमिकता पाउन सकेको छैन। बजेटमा जिल्लाका केही पुराना योजनालाई निरन्तरता दिइएको भए पनि नयाँ र महत्वाकांक्षी योजनाहरू भने सीमित मात्रामा समावेश भएका छन्।
विशेषगरी राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे बजेट वक्तव्यमा कुनै उल्लेख नहुनुले चितवनवासीलाई निराश बनाएको छ। सरकारले देशका विभिन्न सहरमा क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरे पनि चितवनस्थित अधुरो अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भविष्यबारे कुनै स्पष्ट योजना सार्वजनिक गरेको छैन।
देशकै प्रतिष्ठित खेल पूर्वाधारका रूपमा हेरिएको यो रंगशाला वर्षौँदेखि निर्माण अधुरै अवस्थामा रहेको छ। यसलाई सम्पन्न गर्ने विषयमा सरकारले स्पष्ट प्रतिबद्धता नजनाउनु चितवनका खेलप्रेमी तथा सरोकारवालाहरूका लागि चिन्ताको विषय बनेको छ।
चितवनबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू रवि लामिछाने, हरि ढकाल र सोविता गौतमको निर्वाचन क्षेत्रमै पर्ने यस परियोजनाले बजेटमा स्थान नपाउँदा विभिन्न प्रश्न उठ्न थालेका छन्। जिल्लाको विकास, खेलकुद पूर्वाधार र राष्ट्रिय महत्वका अधुरा आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने आवाजसमेत उठ्न थालेको छ।
यद्यपि बजेटमा भरतपुर विमानस्थलको स्तरोन्नति, रात्रिकालीन उडान सञ्चालन, नारायणगढ–हेटौंडा सडकखण्ड सुधार तथा माझिमटार–शक्तिखोर सुरुङमार्ग अध्ययनजस्ता पुराना योजनालाई निरन्तरता दिइएको छ। साथै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लागि उपकरण खरिद गर्न बजेट विनियोजन गरिएको छ।
चितवनका लागि ठूला पूर्वाधार, पर्यटन तथा खेलकुद क्षेत्रका नयाँ कार्यक्रम समावेश हुने अपेक्षा गरिए पनि बजेटले त्यो आशा पूरा गर्न नसकेको भन्दै जिल्लामा मिश्रित प्रतिक्रिया आउन थालेको छ।


