काठमाडौं – सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकतामा राखेको छ ।
शुक्रबार आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन् ।अर्थमन्त्री वाग्लेले मेची, अरुण, तमोर, भेरी, सेती करिडोर तथा खुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइने बताए ।
साथै काठमाडौं चक्रपथ विस्तारअन्तर्गत कलंकी–बसुन्धारा खण्ड विस्तारको काम आगामी वर्षबाट सुरु गरिने र बसुन्धारा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने जानकारी दिए ।
सरकारले कर्णाली क्षेत्रको जनजीवन सहज बनाउन जाजरकोटको मुलसामदेखि जुम्लाको टोप्लासुरुङ मार्गसम्म सुरुङ सडक निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ । यस्तै खुर्कोट–चियाबारी, थानकोट–चित्लाङ तथा चिसापानी–बवैया सुरुङमार्ग निर्माणका लागि पनि अध्ययन अघि बढाइने बजेटमा उल्लेख छ ।
सडक सुरक्षालाई प्राथमिकता दिँदै प्रमुख सडक चोकमा ट्राफिक संकेत, चोक सुधार, सडक रेखांकन, डिभाइडर जडान तथा मर्मत कार्यलाई निरन्तरता दिन सरकारले २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । रेल पूर्वाधारतर्फ बर्दिवासदेखि काठमाडौं–तराई मधेस द्रुतमार्गको प्रस्थान विन्दुसम्म रेलमार्ग निर्माण कार्य अघि बढाइने भएको छ ।
साथै निर्माणाधीन विराटनगर–जनकपुर तथा जयनगर–बर्दिवास रेलमार्गको बाँकी काम सम्पन्न गर्न पनि बजेट विनियोजन गरिएको अर्थमन्त्रीले बताए ।
सरकारले आगामी वर्षदेखि काठमाडौं उपत्यकासहित प्रमुख सहरी सडकलाई नियमित मर्मत सम्भार गरी धुलो तथा खाल्डाखुल्डीमुक्त बनाउने योजना अघि सारेको छ । राष्ट्रव्यापी सडक मर्मत अभियान सञ्चालन गर्न २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायुअनुकूल संरचना निर्माण गरिने तथा पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन ३ अर्ब १७ करोड रुपैयाँ छुट्याइएको छ ।
महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसिटिभीसहितको आधुनिक ‘ब्लु बस’ सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइने पनि सरकारले जनाएको छ ।


