काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन्।
जारी शुभकामना सन्देशमा उनले नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन्। उनले यो व्यवस्था कुनै व्यक्ति वा दलको नभई परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको बताएका छन्।
प्रचण्डले संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको स्पष्ट पारेका छन्। उनले संविधान कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै राज्य सञ्चालनमा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता भएको बताएका छन्।
त्यसैगरी उनले जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हुने उल्लेख गरेका छन्। उनले “गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो” भन्ने धारणा व्यक्त गर्दै समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
प्रचण्डले उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच एकता आवश्यक रहेको बताएका छन्। साथै सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण गर्नु साझा राष्ट्रिय संकल्प भएको उल्लेख गरेका छन्।
उनले राजनीतिक मतभेद रहे पनि राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य संस्कार बन्नुपर्ने बताएका छन्। संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत रहन आग्रह गरेका छन्।
अन्त्यमा उनले समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबैलाई एकजुट हुन आह्वान गर्दै शुभकामना व्यक्त गरेका छन्।


