भरतपुर – साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा बागमती सभ्यताको संरक्षण गर्ने उद्देश्यका साथ `बागमती साहित्य महोत्सव २०८३´ चितवनमा आयोजना हुने भएको छ । महोत्सव आगामी जेठ १६ र १७ गते नारायणगढ उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
`साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको सम्बर्द्धन´ भन्ने मूल भावसहित आयोजना हुन लागेको महोत्सवमा साहित्यिक विमर्श, कविता वाचन, सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा सिर्जनात्मक छलफलका विविध सत्र समावेश गरिने जनाइएको छ । पछिल्ला वर्षहरूमा नेपालका विभिन्न सहरमा साहित्य महोत्सवप्रति आकर्षण बढ्दै गएको सन्दर्भमा चितवनमा हुन लागेको यो कार्यक्रमलाई पनि सिर्जनशीलता र सांस्कृतिक संवादको साझा मञ्चका रूपमा हेरिएको छ ।
आयोजकका अनुसार महोत्सवले समाजमा सहअस्तित्व, संवाद, सांस्कृतिक चेतना र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ । `साहित्य शब्दको शक्ति र विचारको सिर्जना हो´, `कला रंग, रचना र अभिव्यक्ति हो´ तथा `संस्कृति हाम्रो पहिचान र गहना हो´ भन्ने अवधारणालाई केन्द्रमा राखेर कार्यक्रम तय गरिएको जनाइएको छ ।
चितवनको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई समेत समेटेर आयोजना गर्न लागिएको महोत्सवमा देशभरका साहित्यकार, कलाकार, संस्कृतिकर्मी, पत्रकार, युवा सर्जक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
कार्यक्रममा पुस्तक विमोचन, अनुभव आदानप्रदान, समसामयिक विषयमा बहस तथा नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा प्रेरित गर्ने गतिविधिहरू पनि समावेश गरिने जनाइएको छ ।
आयोजकले महोत्सवले बागमती प्रदेशको कला, साहित्य र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा सिर्जनात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । पछिल्ला समय साहित्य महोत्सवहरूलाई केवल मनोरञ्जनको कार्यक्रम नभई विचार, विमर्श र सांस्कृतिक पहिचानको उत्सवका रूपमा लिन थालिएको छ ।


