हर्मुज संकटले नेपालको मल आपूर्ति रोकियो, भदौसम्म नआए रासायनिक मल संकट

एटुजेड समाचार

काठमाडौँ – कृषि, वन तथा वातावरण मन्त्रालयले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण मल आयात रोकिएको जनाएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयको मल खरिद मामिला हेर्ने कृषि विकास महाशाखा प्रमुख डा.रामकृष्ण श्रेष्ठले सम्झौता गरिएको ९५ हजार टन मल हर्मुज जलमार्गमा भएको अवरोधका कारण आयात हुन नसकेको जानकारी दिए। यद्यपि जेठदेखि भदौसम्मको धान रोपाइँ सिजनमा मलको अभाव नहुने उनको भनाइ छ।

धान रोपाइँको सिजनमा करिब २ लाख ४५ हजार टन मल आवश्यक पर्ने उनको भनाइ छ। उनले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि २ लाख ५० हजार टन रासायनिक मल खरिद प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

उनले १ लाख ८७ हजार टन मल आपूर्तिको सम्झौता भइसकेको बताए। महाशाखा प्रमुख श्रेष्ठले विश्व बजारमै रासायनिक मलको उत्पादन र उपलब्धता घट्दा मूल्य बढेको बताए।

श्रेष्ठले भने, ‘सम्झौता भएको करिब ९५ हजार टन रासायनिक मल आउन सकेको छैन। स्टेट अफ हर्मुजमा भएको अवरोधले गर्दा मल त्यहाँ रोकिएको छ। पश्चिम एसियामा बढेको तनावले गर्दा मल आपूर्तिमा समस्या आएको छ।’

Forbes

उनले खरिदका लागि टेण्डर भएपछि नेपालमा मल आइपुग्न औसतमा २२५ दिनसम्म लाग्ने गरेका कारण साउनमा बजेट स्वीकृत भएपछि मल किन्दा माघ फागुनतिर नेपाल आइपुग्ने बताए।

उनले सम्झौता गरिएको मल भदौसम्म पनि आयात हुन नसके चिन्ताको विषय बन्नसक्ने बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु