भरतपुर — बालकुमारी कलेजद्वारा सञ्चालन गरिएको MBA-FM (११औँ ब्याच) को अभिमुखीकरण कार्यक्रम भरतपुर स्थित Bharatpur Garden Resort मा सम्पन्न भएको छ। कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठको सभापतित्वमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. महानन्द चालिसेले व्यवस्थापन शिक्षामा अनुशासन, अनुसन्धानमुखी सोच र व्यावसायिक नैतिकताको महत्त्व रहेको बताउँदै विद्यार्थीहरूलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय हुन आग्रह गर्नुभयो।
विशेष अतिथि प्रा. डा. दिल्लीराज शर्माले वर्तमान समयमा वित्तीय व्यवस्थापन सीपको आवश्यकता बढ्दो रहेको उल्लेख गर्नुभयो भने प्रा. डा. मनोज कुमार चौधरीले नेतृत्व क्षमता, नवप्रवर्तन र समालोचनात्मक सोच भावी व्यवस्थापकका लागि अपरिहार्य रहेको धारणा राख्नुभयो।
कार्यक्रममा MBA-FM कार्यक्रम संयोजक शिव प्रसाद सापकोटाले पाठ्यक्रम, अध्यापन पद्धति, मूल्याङ्कन प्रणाली तथा शैक्षिक व्यवस्थाबारे जानकारी गराउनुभएको थियो। उप-क्याम्पस प्रमुख डा. सुशील घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विद्यार्थीका तर्फबाट सुदीप थापलियाले मन्तव्य राख्नुभएको थियो।
क्याम्पस प्रमुख कुलचन्द्र पण्डितले कलेजको शैक्षिक वातावरण, अनुशासन तथा विद्यार्थीका लागि उपलब्ध अवसरबारे जानकारी गराउँदै धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा कलेजका प्राध्यापक, कर्मचारी तथा नवप्रवेशी विद्यार्थीहरूको सहभागिता रहेको थियो।


