काठमाण्डौ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अमेरिकाविरुद्ध खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। एकअर्काविरुद्ध मैदानमा उत्रिँदा घरेलु टोली नेपाल र अमेरिका पहिलो जितको खोजीमा हुनेछन्।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा मैदान उत्रिँदैछ। सिरिजको आफ्नो पहिलो खेलमा अमेरिका पनि स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले नै पराजित भएको थियो। लिग–२ अन्तर्गत घरेलु मैदानमा अन्तिम सिरिज खेलिरहेको नेपाली टोली अंक तालिकामा स्थान सुधारको लक्ष्यमा छ।
एक दिवसीय वरीयता कायम राख्न नेपाललाई शीर्ष ६ मा रहनु अति आवश्यक छ। त्यसैले नेपाली टोलीको लक्ष्य शीर्ष ६ मा स्थान सुरक्षित गर्नु हो। नेपाल भ्रमणमा रहेका अमेरिका र स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न चाहन्छन्। लिग–२ को शीर्ष ४ मा रहने टोलीले सिधै विश्वकप छनोटमा स्थान बनाउनेछन्। अन्य टोलीले भने विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाली टोली शीर्ष ६ मा रहेर सिधै वरीयता जोगाउने लक्ष्यमा छ। त्यसैले घरेलु मैदानको सिरिज नेपाली टोलीका लागि महत्त्वपूर्ण छ। अमेरिकाविरुद्ध मैदान उत्रिँदा नेपाली टोलीमा २ खेलाडी परिवर्तनको सम्भावना छ।
मुख्य प्रशिक्षक स्टुआर्ट लले विनोद भण्डारी र अर्जुन कुमाललाई बेन्चमा राख्न सक्नेछन्। उनीहरुको स्थानमा कुशल भुर्तेल र ईशान पाण्डे प्लेइङ ११ मा आउन सक्नेछन्। आजको खेलमा ईशान पाण्डेले नेपालका लागि ओडीआईमा डेब्यु गर्ने सम्भावना छ। स्कटल्यान्डविरुद्धको खेललाई हेर्ने हो भने नेपालको बलिङ साइड बलियो देखिए पनि ब्याटिङ लाइनअपमा खेलाडीहरु जिम्मेवार हुन सकेनन्। ओडीआई वरीयता जोगाउन र घरेलु मैदानमा जितको सिलसिला कायम राख्न पनि नेपाली टोलीलाई जितको आवश्यक छ।
लिग–२ अघि स्कटल्यान्ड र अमेरिकाको टोलीले नेपालको ए टोलीसँग अभ्यास खेल खेलेका थिए। चार खेलमा जित निकाल्दै नेपाल ए टोलीले अमेरिका र स्कटल्यान्डलाई हराउन त्यति चुनौतीपूर्ण नरहेको सन्देश दिएका थिए। यद्यपि राष्ट्रिय टोलीले भने जितको लयलाई कायम राख्न सकेन।


