‘डिडिसी’बाट सित्तैमा दूध–घिउ खाने व्यवस्था तत्काल रोक्न कृषिमन्त्रीको निर्देशन

एटुजेड समाचार

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिएकी छन् ।

आज आयोजित छलफलमा उनले कर्मचारीहरूले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गुनासो आएको भन्दै सो कार्य तत्काल रोक्न निर्देशन दिएकी हुन् ।

मन्त्री चौधरीको निर्देशन कार्यान्वयनपछि संस्थानको वार्षिक रु ७८ लाख जोगिने उनको सचिवालयले जनाएको छ । “संस्थान घाटामा छ । किसानले भुक्तानीलगायत समस्या भोगिरहेका छन्, तर कर्मचारीले वार्षिक लाखौँ रकमको दूध र घिउ सित्तैमा लिने कुरा राम्रो होइन । त्यसैले यस्तो कार्य तत्काल रोकौँ, संस्थानको हितका लागि गम्भीर भएर काम गरिनुपर्छ”, निर्देशनका क्रममा मन्त्री चौधरीले भनिन्।

कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु