इलेक्ट्रीक स्कुटीमा आगलागी हुँदा एकै परिवारका चारजना गम्भीर

वीरगन्ज –  बढ्दो पेट्रोलको मूल्यबाट हैरान भई इलेक्ट्रीक मोटरसाइकल वा स्कुटी खरिद गर्ने सोचमा हुनुहुन्छ भने सावधान हुनु आवश्यक देखिएको छ ।

इलेक्ट्रीक स्कुटीकै कारण वीरगन्जमा एकै परिवारको ज्यान नै जोखिममा परेको घटना सार्वजनिक भएको छ । घरमा चार्ज गर्न राखिएको ‘टोनमा’ कम्पनीको स्कुटरमा एकाएक आगलागी हुँदा वीरगन्ज महानगरपालिका वडा नं. १६, नगवा निवासी विशाल सर्राफ र उनका परिवारका सदस्यहरू गम्भीर अवस्थामा पुगेका हुन् ।

बढ्दो पेट्रोलको मूल्यबाट आजित भएका विशालले एक महिना अघि खरिद गरेको उक्त स्कुटरमा गएराति आगलागी हुँदा सर्राफसहित उनकी श्रीमती २६ वर्षीया अञ्जली सर्राफ, ६ वर्षीय छोरा कबिर सर्राफ र २ वर्षीया छोरी इशा सर्राफ गम्भीर बिरामी भई आइसीयूमा भर्ना भएका छन् ।

सोही स्कुटीलाई शनिबार राति चार्जमा राखेर सुतेका बेला ब्याट्री पड्किँदा आगलागी भएको र उक्त घटनामा परिवारका सदस्यहरू घाइते भएको विशालका पिता विष्णु सर्राफले जानकारी दिनुभयो । आगलागीमा परी गम्भीर बिरामी भएका परिवारका सदस्यहरूलाई वीरगन्जस्थित गण्डकमा रहेको बयोधा अस्पतालको आइसीयूमा भर्ना गरिएको छ भने २ वर्षीया बालिकालाई सोही अस्पतालको एनआईसीयूमा राखिएको छ ।

हाल घाइतेहरूको उपचार पहिलो प्राथमिकतामा रहेको र त्यसपछि कम्पनीविरुद्ध कानुनी कारबाही गर्ने तयारी रहेको उनले बताए । यस घटनाले स्थानीय बासिन्दामा पनि त्रास फैलाएको छ । छिमेकी सुशीला देवीले यस्ता सवारीसाधन घरमा नकिन्न र प्रयोग नगर्न आफूले परिवारका सदस्यलाई सचेत गराएको बताइन् ।

Forbes

उक्त घटनाबारे बुझ्दा कुशवाह मोटर्सका कर्मचारी शौरभ श्रीवास्तवले विद्युत् फ्लक्चुएसनका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए । उनका अनुसार यस प्रकारको घटना पहिलो पटक भएको हो र यसको कारणबारे कम्पनीले पनि अनुसन्धान गर्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब निरीक्षक राजु कार्कीले स्कुटीमा आगलागी हुँदा एकै परिवारका चारजना बिरामी भएको पुष्टि गरे । उनका अनुसार घरभित्र चार्जमा राखिएको स्कुटीमा आगलागी हुनुको कारणबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

यस घटनालाई लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ भने स्कुटीका आधिकारिक विक्रेता कुशवाह मोटर्सका सञ्चालकलाई समेत सोधपुछका लागि बोलाइएको जनाएको छ ।

नगवामा भएको यस घटनाले भविष्यको सवारीसाधनका रूपमा प्रचार भइरहेका इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरहरूको सुरक्षामापदण्डबारे प्रश्न उठाएको छ । नेपालमा आयात हुने यस्ता सवारीसाधनको गुणस्तर परीक्षणलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता विज्ञहरूले औंल्याएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु