ट्रम्पद्वारा इरानको १४ बुँदे शान्ति प्रस्ताव अस्वीकार

एटुजेड समाचार

काठमाडौं – पश्चिम एसियामा जारी तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको १४ बुँदे शान्ति प्रस्ताव पूर्ण रूपमा अस्वीकार गरेका छन्।

ट्रम्पले उक्त १४ बुँदे प्रस्ताव आफ्नो अपेक्षाअनुसार नभएको बताएका छन्। यो प्रस्तावलाई वर्तमान युद्धविरामलाई थप टिकाउ बनाउँदै कूटनीतिक समाधानतर्फ लैजाने प्रयासका रूपमा हेरिएको थियो।

इजरायली समाचार संस्था ‘क्यान न्यूज’सँग ट्रम्पले प्रस्तावको विस्तृत समीक्षापछि पनि आफू सन्तुष्ट हुन नसकेको स्पष्ट पारे। उनले भने, ‘यो मेरा लागि अस्वीकार्य छ। मैले यो सबै पढेँ, तर पनि यो स्वीकार गर्न सकिँदैन।’

द टाइम्स अफ इजरायलका अनुसार उनले थपे, ‘इरान सम्झौता गर्न चाहन्छ। तर, म उनीहरूको प्रस्तावबाट सन्तुष्ट छैन। त्यहाँ केही यस्ता कुराहरू छन्, जसमा म सहमत हुन सक्दिनँ।’

डोनाल्ड ट्रम्पको यो अभिव्यक्तिले इरानप्रतिको उनको संशयलाई थप पुष्टि गरेको विश्लेषण गरिएको छ। उनले सामाजिक सञ्जालमा लेख्दै विगत ४७ वर्षमा इरानले मानवता र विश्वप्रति जे–जस्तो व्यवहार गरेको छ, त्यसको बदलामा उसले अझै पर्याप्त मूल्य नचुकाएको बताएका छन्।

Forbes

के छ इरानको १४ बुँदे प्रस्तावमा ?
इरानले युद्धविराम मात्र नभई पूर्ण रूपमा युद्ध अन्त्य गर्न चाहेको बताएको छ। यसका लागि उसले ३० दिनभित्र सबै मुद्दा समाधान गर्नुपर्ने सर्त अघि सारेको छ।

प्रस्तावका मुख्य मागहरूमा अमेरिका र उसका सहयोगीहरूबाट भविष्यमा आक्रमण नहुने सुनिश्चितता, इरान वरपरका क्षेत्रबाट अमेरिकी सेना फिर्ता, रोक्का गरिएको इरानको अर्बौं डलर बराबरको सम्पत्ति फिर्ता, इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्धहरू हटाइनुपर्ने, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, लेबनानसहित सम्पूर्ण क्षेत्रमा संघर्ष अन्त्य गर्नुपर्ने, होर्मुज जलमार्गका लागि नयाँ नियन्त्रण संयन्त्र बनाउनुपर्ने तथा इरानले आफ्नो परमाणु कार्यक्रम जारी राख्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने विषय समावेश छन्।

अमेरिकी राष्ट्रपतिले इरानसँगको वार्ता विफल भएमा भविष्यमा सैन्य कारबाही हुनसक्ने सम्भावनालाई नकारेका छैनन्।

उनलाई आक्रमण फेरि सुरु हुनसक्छ भन्ने प्रश्नमा उनले भने, ‘यदि, उनीहरूले केही गडबडी गरे वा केही नराम्रो गरे भने आक्रमण हुनसक्ने सम्भावना रहन्छ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु