इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ३९औँ खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) ले घरेलु टोली दिल्ली क्यापिटल्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
सोमबार राति अरुण जेट्ली स्टेडियममा ७६ रनको सामान्य लक्ष्य आरसिबीले मात्र ६.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
८१ बल बाँकी छँदै हात पारेको यो जितसँगै आरसिबीले दिल्लीलाई उसकै घरेलु मैदानमा लज्जास्पद हार चखाएको छ। दिल्लीले प्रस्तुत गरेको ७६ रनको झिनो लक्ष्य पछ्याउने क्रममा आरसिबीका ब्याटरहरूले सुरुवाती ओभरदेखि नै आक्रामक ब्याटिङ गरेका थिए।
आरसिबीका ओपनर ज्याकोब बेथेलले ११ बलमा १ चौका र २ छक्कासहित २० रन बनाएर आउट भए पनि विराट कोहली र देवदत्त पडिक्कलले टोलीलाई सहज जितसम्म पुर्याए।
पडिक्कलले विष्फोटक ब्याटिङ गर्दै १३ बलमै ३ चौका र ३ छक्काको मद्दतमा अविजित ३४ रन जोडे। त्यस्तै, कोहलीले १५ बलमा १ चौका र २ छक्कासहित अविजित २३ रन बनाए।
दिल्लीका बलरहरू आरसिबीको आक्रामक ब्याटिङसामु पूर्ण रूपमा प्रभावहीन देखिए। दिल्लीका लागि काइल जेमिसनले ३ ओभरमा ४२ रन खर्चेर १ मात्र विकेट लिन सके। उनले खेलको २.५ ओभरमा ज्याकोब बेथेललाई टी नटराजनको हातबाट क्याच आउट गराएका थिए। त्यसबाहेक दिल्लीका कुनै पनि बलरले सफलता हात पार्न सकेनन्।
यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्ली १६.३ ओभरमा मात्र ७५ रनमा अलआउट भएको थियो। आरसिबीका तीव्र गतिका बलरद्वय जोस हेजलवुड र भुवनेश्वर कुमारको घातक बलिङसामु दिल्लीको ब्याटिङ लाइनअप तासको महलझैँ ढलेको थियो।
‘पावरप्ले’ भित्रै जम्मा ८ रन जोड्दा आफ्ना शीर्ष ६ ब्याटर गुमाएर दिल्ली पतनको सिकार बनेको थियो। दिल्लीका कप्तान अक्षर पटेल, ओपनर साहिल पारख र समिर रिजभी शून्य रनमै पेभिलियन फर्किएका थिए। अनुभवी ब्याटर केएल राहुल र नितिश रानाले समान १-१ रन मात्र जोड्न सके भने ट्रिस्टन स्टब्स ५ रनमै आउट भए।
सुरुवाती पतनपछि टोली अत्यन्तै दबाबमा परेको बेला साहिल पारखको स्थानमा मैदान छिरेका ‘इम्प्याक्ट प्लेयर’ अभिषेक पोरेलले सर्वाधिक ३० रनको योगदान दिए। उनले ३३ बल खेल्दै ३ चौका प्रहार गरे। डेभिड मिलरले १८ बलमा १९ रन र काइल जेमिसनले १३ बलमा १२ रन जोड्दै टोलीको स्कोर ७५ सम्म पुर्याएका थिए।
आरसिबीका लागि अस्ट्रेलियन पेसर जोस हेजलवुडले ३.३ ओभरमा १२ रन दिएर सर्वाधिक ४ विकेट लिए। त्यस्तै, अनुभवी भारतीय पेसर भुवनेश्वर कुमारले ३ ओभरमा ५ रन मात्र खर्चेर ३ विकेट झारे। स्पिनर सुयश शर्माले उत्कृष्ट स्पेल फ्याँक्दै ४ ओभरमा १ मेडनसहित ७ रन दिएर १ विकेट लिए भने कृणाल पाण्ड्या र रसिक सलामले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए।


