काठमाडौँ – नेपालले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार यूएईसँग खेल्दै क्रिकेट विश्वकप लिग २ को महत्त्वपूर्ण शृंखला सुरु गर्नेछ । सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटको आधार रहेको ८ राष्ट्र समावेश लिग २ को अंकतालिकामा नेपाल र यूएई पुछारको दुई स्थानमा छन् ।
दुवैले क्रमशः २० खेल खेल्दै १२ र १० अंकमात्र जोड्न सकेका छन् । लिग २ को शीर्ष चार स्थानमा रहने टोलीले विश्वकप छनोटमा सोझै स्थान पाउँछन् भने पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । दुई महिनाअघि भारतमा ट्वान्टी–२० विश्वकप खेलेको नेपाल र यूएई दुवैले ५० ओभरको संरचनाको क्रिकेटमा भने त्यसअनुरुपको प्रदर्शन देखाउन सकेको छैन ।
यसले गर्दा दुवै टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता संकटमा पर्न लागेको छ । यूएईमा खेलिएको पछिल्लो लिग २ कों शृंखलामा यूएई र अमेरिकासँग गरी नेपाल ४ खेलमा पराजित भएको थियो । लिग २ को एकै शृंखलामा नेपाल सबै चार खेलमा पराजित भएको यो पहिलो अवसर थियो । तर २०२३ मा पछिल्लो पटक लिग २ का लागि यूएई काठमाडौं आउँदा नेपालले दुवै खेल जितेको थियो ।
यस शृंखलाको तेस्रो टोली ओमान हो । २४ खेलमा २९ अंक जोडेर ओमान लिग २ अंकतालिकाको तेस्रो स्थानमा छ । यही ओमानलाई शुक्रबार नेपाल ‘ए’ ले मूलपानीमा १ सय १५ रनले पराजित गरेको थियो । पछिल्लो पटक काठमाडौं आउँदा ओमानले नेपाल र अमेरिकाविरुद्धको लिग २ शृंखला ‘क्लिन स्विप’ गरेको थियो । तर नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर सोझै विश्वकप छनोटमा पुगेको थियो । त्यस क्रममा नेपालले स्कटल्यान्ड र नामिबिया तथा यूएई र पपुवा न्युगिनीसँगको शृंखलाका सबै ८ खेल जितेर लिग २ को शीर्ष तीन टोली बन्दै सोझै विश्वकप छनोटमा पुगेको थियो ।
यूएईले यसअघि नै काठमाडौं आएर नेपालसँग दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेको छ । यूएईका प्रशिक्षक लालचन्द राजपुतले लिग २ को शृंखला अगाडि यहाँको कन्डिसनसँग भिज्न ट्वान्टी–२० शृंखलाले महत्त्वपूर्ण भूमिका खेल्ने जनाएका थिए ।
नेपालले यूएई र ओमानसँग खेलेलगत्तै अमेरिका र स्कटल्यान्डसँगको अर्को लिग २ को शृंखला खेल्ने छ ।


