भरतपुर – भरतपुर महानगरपालिकाले आगामी स्थानीय पाठ्यक्रममा रक्तदानसम्बन्धी शिक्षा समावेश गर्ने तयारी अघि बढाएको छ। यस पहलले विद्यार्थीहरूमा सानै उमेरदेखि रक्तदानप्रति सकारात्मक सोच विकास गर्ने लक्ष्य लिएको छ।
यसै सन्दर्भमा आज रक्तदानप्रति चासो राख्ने व्यक्तिहरू तथा चिकित्सकहरूको सहभागितामा महानगरपालिकामा ध्यानाकर्षण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई कसरी प्रभावकारी रूपमा समावेश गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
छलफलका क्रममा सहभागीहरूले विद्यालय तहबाटै रक्तदानसम्बन्धी ज्ञान, यसको महत्व र सामाजिक उत्तरदायित्वबारे सचेतना फैलाउनु आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमपछि उक्त विषयमा आवश्यक अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्न डा. प्रतीक न्यौपानेको नेतृत्वमा एक कार्यदल गठन गरिएको छ। कार्यदलले पाठ्यक्रममा समावेश गरिने विषयवस्तु, कार्यान्वयनको विधि तथा प्रभावकारिताबारे अध्ययन गर्नेछ। महानगरपालिकाको यो कदमले भविष्यमा रक्तदान संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


