काठमाडौं – फुङलिङपछि ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पनि विद्यार्थी भर्ना अभियानमा खोप कार्ड अनिवार्य गरेको छ।
पालिकाका हेल्थ असिष्टेन्ट बिशाल सेजुवालका अनुसार पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको भर्ना अभियानमा खोप कार्ड अनिवार्य गरिएको हो।
सेजुवालका अनुसार अब पालिका भरीका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्दा अनिवार्य खोप कार्ड चाहिने छ। पालिकाले पालिका भरीका सामुदायिक तथा संस्थागत विद्यालयलाई खोप ऐन २०७२ को दफा ३३ मा भएको व्यवस्था स्मरण गराएको छ।
खोप ऐन २०७२ को दफा ३३ मा विद्यालयले बालबालिका भर्ना गर्दा निजको संरक्षक वा अभिभावकसंग खोप कार्ड माग्न सक्ने साथै राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको खोप नलिएका बालबालिकाको अभिलेख राखी सोको जानकारी नजिकको स्वास्थ्य संस्थामा पठाउनुपर्ने प्रावधान राखिएको छ।
सेजुवालका अनुसार बालबालिकाले जन्मेदेखि १५ महिना पूरा नभईञ्जेल लगाउनुपर्ने सम्पूर्ण खोपहरू लगाएका छन् की छैनन् भनेर एकिन गरी यदि कुनैपनि ५ वर्ष भित्रका बच्चा खोप लगाउनबाट छुटेको रहेछ भने खोप लगाउन सहजीकरणका लागि यसै शैक्षिक सत्रको नयाँ विद्यार्थी भर्ना गर्दा खोप कार्ड अनिवार्य समावेश गर्नुपर्ने पालिकाको निर्णय अनुसार विद्यार्थी भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो।
तथ्याङ्क अनुसार जन्मदेखि १५ महिना भित्रका बालबालिकाहरूले कुनैपनि खोप नलगाएको शून्य डोजको संख्या नेपालमा ४० प्रतिशत रहेकोमा कोशी प्रदेशमा ६ प्रतिशत रहेको आँकडा छ। यहीँ कारण पनि प्रत्येक बालबालिकालाई विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गरी खोप लगाउन छुटेको भए आवश्यक खोपको मात्रा पूरा गर्ने प्रयोजनका लागि यस्तो निर्णयमा पुगिएको पाथीभरा याङवरक गाउँपालिकाले जनाएको छ।
यसअघि फुङलिङ नगरपालिकाले समेत नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आवह्वान गर्दै विद्यार्थी भर्ना गर्दा खोप कार्ड अनिवार्य भएको सूचना जारी गरेको थियो। नगरप्रमुख अमिर मादेनले खोपको मात्रा पत्ता लगाई खोप लगाउन छुटेका बालबालिकालाई अनिवार्य खोपको पहुँचमा ल्याउन यस्तो निर्णय गरिएको बताएका थिए।


