भरतपुर – भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई नि:शुल्क सिपमूलक तालिम दिने भएको छ । स्कुलले एसईई दिएर बसेका विद्यार्थीको खाली समयको सदुपयोग गर्दै बैशाख १३ देखि १९ गतेसम्म तालिम दिने भएको हो ।
स्कुलका प्लस टु विज्ञान संकाय संयोजक लीलबहादुर हमालका अनुसार विभिन्न ४ विधामा बिहान ८ देखि १० बजेसम्म तालिम सञ्चालन हुनेछ । स्कुलले केक बनाउने तालिम, ब्युटिसियन, गर्मी मौसमका लागि पेय पदार्थ बनाउने तथा वेब पेज डिजाइनिङ तालिम दिन लागेको हो । सम्बन्धित बिषय विज्ञले नै विद्यार्थीहरुलाई तालिम दिने हमालले जानकारी दिए ।
हरेक विधामा २५-२५ जना विद्यार्थीका लागि सिट सीमित गरिने उनले बताए । जुन सुकै विद्यालयबाट एसईई दिएर बसेका इच्छुक विद्यार्थीले ग्रीनल्याण्डमा सम्पर्क गरेर तालिममा सहभागी हुन सक्ने उनले जानकारी दिए ।
यो तालिम एसईई दिएर बसेका विद्यार्थीहरुका लागि उपयोगी हुने स्कुलकी प्राचार्य इन्दिरा कार्कीले बताईन् । स्कुलले सधैं सिपमूलक गुणस्तरीय शिक्षामा जोड दिदै आएको भन्दै कार्कीले यो तालिम त्यसैको एउटा उदाहरण भएको बताईन् । यो तालिमले विद्यार्थीलाई आगामी दिनमा अध्ययनसँगै रोजगारीका लागि बाटो खुल्ने उनको भनाइ छ ।


