नारायणी किनारमा बुद्धको मूर्ति र चौताराको पुनःनिर्माण सुरु

एटुजेड समाचार

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा रहेको बुद्धको मूर्ति र चौताराको पुनःनिर्माण कार्य सुरु गरिएको छ। बाढी र पहिरोका कारण क्षतिग्रस्त संरचनालाई सुधार गर्न सुनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्यले व्यक्तिगत लगानीमा पुनःनिर्माण अघि बढाउनुभएको हो।

शाक्यका अनुसार मूर्ति र चौताराको मर्मतका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। जमिनदेखि ३६ फिट अग्लो बुद्धको मूर्ति २०७० सालमा निर्माण गरिएको थियो, तर नारायणी नदीमा आउने बाढीका कारण यसमा पटक–पटक क्षति पुगेको थियो। हाल भत्किएका भागहरूमा प्लास्टर तथा रंगरोगनको काम भइरहेको छ।

यस स्थानमा शाक्यले करिब एक दशकअघि एक करोड १० लाख रुपैयाँ लगानी गरेर सम्पूर्ण संरचना निर्माण गर्नुभएको थियो, जसमा मूर्तिका लागि मात्रै ४० लाख रुपैयाँ खर्च गरिएको थियो।

गत वर्षको बाढीले बगाएर ल्याएका ठूला ढुंगाहरूमा बुद्धसँग सम्बन्धित विभिन्न कलात्मक आकृतिहरू कुँदिएका छन्। त्यस्तै, चौताराको प्रवेशद्वारमा भगवान गणेश, स्वस्तिक, शंख र ॐ का आकृतिहरू समेत सजाइएको छ।

चौतारामा वर, पीपल र स्वामीका बोटहरू रहेका छन्, जहाँ बसेर नारायणी नदीको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। विशेषगरी साँझपख यहाँ आउने आगन्तुकहरूले सूर्यास्तको दृश्यसँगै शीतल वातावरणको आनन्द लिने गर्दछन्। साथै, यो स्थान फोटो तथा भिडियो खिच्नका लागि पनि लोकप्रिय बन्दै गएको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु