कीर्तिपुरमा पहिलो रात्रिकालीन अन्तर्राष्ट्रिय क्रिकेट: ऐरीको कप्तानीमा नेपाल–युएई भिड्दै

एटुजेड समाचार

नेपाली क्रिकेट इतिहासमै पहिलो पटक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय रात्रिकालीन खेल हुँदैछ।

सोमबार हुने यस ऐतिहासिक टी-२० शृङ्खलामा नेपालले आफ्नो सबैभन्दा चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ। तर, यसपटक युएईविरुद्ध मैदान उत्रिँदा नेपाली टोलीको अनुहार र नेतृत्व दुवै फेरिएको हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेलको फम्रयाट अनुसार छुट्टाछुट्टै टोली निर्माण गर्ने नीति अख्तियार गरेको छ। यससँगै टी–२० टोलीमा पनि खेलाडी हेरफेर गरिएको छ।

यसअघि एकदिवसीय र टी-२० दुवैको नेतृत्व गरिरहेका नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिँदै टी-२० को कप्तानी अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई सुम्पिएको छ।

नयाँ कप्तान ऐरीको नेतृत्वमा रहेको यो टोलीका लागि युएईविरुद्धको खेल ठूलो र महत्त्वपूर्ण अग्निपरीक्षा बन्नेछ।

Forbes

विशेषगरी क्रिकेटका शक्तिशाली राष्ट्रहरूले अभ्यास गर्दै आएको फरक फम्र्याट, फरक टोली र फरक कप्तानको अवधारणालाई क्यानले यसै शृङ्खलाबाट औपचारिक रूपमा थालनी गरेको हो।

क्यानले घोषणा गरेको १५ सदस्यीय नयाँ टोलीमा पुराना र अनुभवी खेलाडीहरूलाई बाहिर राख्दै नयाँ अनुहारलाई स्थान दिइएको छ।

निवर्तमान टी–२० कप्तान रोहितसँगै नियमित ओपनर आसिफ शेख, तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी तथा स्पिनर ललित राजवंशी यसपटक टी–२० स्क्वाडमा अटाएका छैनन्।

उनीहरूको स्थानमा पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका युवा खेलाडीहरू शेर मल्ल, बसिर अहमद र हेमन्त धामीलाई मौका दिइएको छ।

त्यसैगरी, केही समययता फर्ममा नरहेका कारण आलोचना खेपिरहेका ब्याटर कुशल मल्लले पनि टोलीमा ‘कमब्याक’ गरेका छन्।

एसोसिएट क्रिकेटमा नेपाल र युएईबीचको भिडन्तलाई ‘एल क्लासिको’ मान्ने गरिन्छ। विश्वकप छनोट होस् वा एसिया कप छनोट, यी दुई टोली आमनेसामने हुँदा सधैँ उच्च दबाब र कडा प्रतिस्पर्धा देखिने गरेको छ।

यी दुईबीचको खेल जति रोमान्चक हुन्छ, नतिजा पनि त्यति नै अनपेक्षित हुने गर्दछ।

टी–२० अन्तर्राष्ट्रियको ऐतिहासिक तथ्याङ्क हेर्दा भने नेपालको पल्ला थोरै भारी देखिन्छ। हालसम्म यी दुई टोलीबीच भएका कुल ११ टी–२० खेलमा नेपालले ६ खेल जितेको छ भने युएईले ५ खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ।

सधैँ कडा टक्कर दिने युएईले यसपटक भने पुरानो शैलीको नभई नयाँ रणनीति बोकेको नेपाली टोलीको सामना गर्नुपर्नेछ।

लामो समयपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको छ। त्यसमा पनि पहिलो पटक ‘फ्लडलाइट’ को उज्यालोमा रात्रिकालीन खेल हुने भएकाले आम क्रिकेट समर्थकहरूमा उत्साह छाएको छ।

एकातिर रात्रिकालीन क्रिकेटको रोमाञ्चकता र अर्कोतिर नयाँ कप्तानसहितको युवा टोली मैदानमा उत्रिने भएकाले त्रिवि मैदानको माहोल विशेष हुने क्रिकेटप्रेमीहरूको अपेक्षा छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु