अभिनेता अनमोल केसीका लागि २०८२ अद्भूत वर्ष रह्यो । गत असोजमा प्रदर्शन भएको उनी अभिनीत फिल्म ‘जेरी अन टप’ले उनको करिअरलाई नै टपमा पुर्यायो । घरेलु बक्स अफिसमा मात्र करिब साढे १२ करोड कमाएको यो फिल्मबाट उनले आफ्नो स्टारडम मात्र प्रमाणित गरेनन्, अभिनयलाई लिएर हुने आलोचना पनि धेरै हदसम्म रोक्न सफल भए ।
‘जेरी अन टप’को व्यावसायिक सफलतापछि यतिबेला अनमोलको फिल्ममा माग फेरि बढेको छ । उनले बुधबार फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेको फिल्मको लाइनअपले पनि यो पुष्टि गर्छ । उनले चार फिल्मको लाइनअप सार्वजनिक गरेका छन्, जसमा बुबा भुवन केसी निर्देशक रहेको ‘बाटुलो जून’देखि ‘जेरी अन टप’को दोस्रो भाग (सिक्वेल)सम्म छ ।
अनमोलले ‘बाटुलो जून’को छायांकन लगभग सकाइसकेका छन् । अब यो फिल्मको बढीमा १० दिनको छायांकन बाँकी छ । यसपछि उनले फिल्म ‘ए मेरो हजुर ५’को छायांकन सुरु गर्नेछन् । दशैंपछि उनी क्यूएफएक्सका प्रमुख नकिम उद्दिनको फिल्म ‘बिभोर वी मेट’मा काम गर्ने तयारीमा छन् । वर्षको अन्तिममा भने उनले ‘जेरी : द लास्ट क्लाइम्ब’लाई समय दिने जनाइएको छ ।
यसरी हेर्दा अनमोलको सेड्युल यस वर्षका लागि ‘प्याक’ भएको देखिन्छ । अब उनले यी चार फिल्मको छायांकन पूरा नभएसम्म नयाँ फिल्म साइन नगर्ने बुझिएको छ । निकट स्रोतका अनुसार उनले ‘बाटुलो जून’बाहेक अन्य तीन फिल्ममा ५० लाखभन्दा माथि पारिश्रमिक लिएका छन् । अर्थात् तीन फिल्मबाटै उनले डेढ करोडमाथि कमाएका छन् ।


