काठमाडौं- आजकल प्राय टिकटक र रिल्स धेरै हेरिन्छ। मानिसहरु यस्ता भिडियो हेरेर आफ्नो समय बिताउने गर्छन । टिकटक/रिल्स हेर्ने बानी मनोरञ्जनको सामान्य माध्यमजस्तो देखिए पनि यसको असर मस्तिष्कमा रक्सी र जुवाको लत सरह देखिएको एक नयाँ अध्ययनले पुष्टि गरेको छ ।
‘न्यूरोइमेज’ जर्नलमा प्रकाशित अनुसन्धानले देखाए अनुसार, रिल र टिकटक जस्ता छोटा भिडियोहरूले मस्तिष्कको कार्यशैलीमा गहिरो असर पार्छन् र ध्यान केन्द्रित गर्न असहज बनाउँछन् ।
शोधअनुसार, यस्ता भिडियोले मस्तिष्कको इनाम प्रणालीलाई अत्यधिक सक्रिय बनाउँछ, जुन मादक पदार्थ सेवन र जुवा खेल्दा पनि सक्रिय हुने देखिएको थियो ।
यस प्रणालीको अत्यधिक सक्रियताले डोपामाइनको उत्पादन बढाउँछ, जसले मानिसलाई तात्कालिक आनन्द त दिन्छ तर बिस्तारै नियन्त्रण गुमाउने, ध्यान भंग हुने, र सामान्य जीवनशैली निरस लाग्ने अवस्थासम्म पुर्याउँछ ।
राति अबेरसम्म टिकटक हेर्ने बानीले शरीरको सर्काडियन घडी अर्थात् प्राकृतिक सुत्ने चक्रमा अवरोध ल्याउँछ।
मोबाइलको निलो प्रकाशले मेलाटोनिन उत्पादनमा ढिलाइ गराउँछ, जसको परिणामस्वरूप निद्रामा कमी, स्मरणशक्ति कमजोर, र मूड स्विङ जस्ता समस्या देखिन सक्छन् ।
विशेषज्ञहरूले दिनको २५–३० मिनेटभन्दा बढी रिल नहेर्नु, सुत्नुभन्दा कम्तीमा आधा घण्टा अगाडि फोन बन्द गर्नु, नियमित व्यायाम, र परिवार तथा साथीहरूसँग समय बिताउनु जस्ता उपायहरू अपनाउन सुझाव दिएका छन्।
यसका साथै, स्क्रोलिङको सट्टा किताब पढ्ने, म्युजिक सुन्ने वा सिर्जनात्मक काममा लाग्नाले मस्तिष्कलाई सन्तुलनमा राख्न सकिने अध्ययनकर्ताहरूको भनाइ छ।


